करिब तीन दशकअघि कैलालीको लम्कीबाट खाद्यान्न तथा पशुपन्छी दानाको व्यापार सुरु गरेको डल्फिन ग्रुप आज नेपालको कृषि, पशुपालन तथा खाद्य उद्योग क्षेत्रमा स्थापित औद्योगिक समूहका रूपमा परिचित छ। अब समूहले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउनुका साथै सर्वसाधारणलाई पनि कम्पनीको यात्रामा सहभागी गराउने लक्ष्यसहित अघि बढ्न खोजेको छ।
हाल राइस मिल, पेलेट फिड उद्योग, फुल फ्याट सोया उद्योग, सोया चंक्स उद्योग, चक्की आँटा उद्योग, चिउरा उद्योग, भुजा उद्योग, आधुनिक वधशाला, ह्याचरी तथा कोल्ड स्टोर गरी १० वटा उद्योग सञ्चालन गरिरहेको समूहले देशभर आफ्ना उत्पादन विस्तार गरिरहेको छ। खाद्य उत्पादनहरू “डीएफसी (Directly From Community)” ब्रान्डमार्फत तथा पशुपन्छी दानाका उत्पादनहरू “डल्फिन पेलेट फिड्स” नामबाट बजारमा उपलब्ध छन्।
समूहका उत्पादन काठमाडौंसहित देशभरका बजार तथा वितरक सञ्जालमार्फत बिक्री हुँदै आएका छन्। पछिल्लो समय डिजिटल प्लेटफर्ममार्फत पनि उपभोक्तासम्म पहुँच विस्तार गरिएको कम्पनीले जनाएको छ।
कृषि तथा पशुपालन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै आएको डल्फिन ग्रुपले किसानसँगको सहकार्य, प्राविधिक परामर्श तथा आधुनिक कृषि प्रवर्द्धनमा समेत लगानी गर्दै आएको छ। हाल समूहसँग आबद्ध प्राविधिक तथा पशु चिकित्सकहरूले किसानका फार्ममा प्रत्यक्ष सेवा प्रदान गरिरहेका छन्।
दुई जनाबाट सुरु भएको समूहमा अहिले ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन्। यसका अतिरिक्त किसान, ढुवानी व्यवसायी, वितरक तथा अन्य सरोकारवालामार्फत हजारौं व्यक्तिले अप्रत्यक्ष रूपमा रोजगारी तथा आम्दानीको अवसर पाएका छन्।
डल्फिन ग्रुपले अब आफ्ना उत्पादन प्रयोग गर्ने उपभोक्ता तथा सर्वसाधारणलाई पनि कम्पनीको स्वामित्वमा सहभागी गराउने अवधारणासहित अघि बढ्न खोजेको बताएको छ। कम्पनीका अनुसार उत्पादन खरिद गर्ने ग्राहकलाई भविष्यमा कम्पनीको वृद्धिसँगै जोड्ने र सर्वसाधारणलाई समेत सेयरधनी बनाउने लक्ष्य राखिएको छ।
स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन तथा कृषि क्षेत्रमा दीर्घकालीन लगानीमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यसहित डल्फिन ग्रुपले आगामी दिनमा पनि आफ्नो व्यवसाय विस्तारलाई निरन्तरता दिने जनाएको छ।



प्रतिकृया