काठमाडौं महानगरपालिकामा कार्यरत पाँच कर्मचारी तथा पेशागत संगठनहरूले ११ बुँदे मागसहित नगर कार्यपालिकामा ज्ञापनपत्र बुझाउँदै महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।
उनीहरूले गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा महानगर प्रहरी प्रमुख राजु पाण्डेले देखाएको व्यवहारलाई गम्भीर रूपमा लिँदै त्यसप्रति आपत्ति जनाएका छन्। घटनालाई अमर्यादित, अनुशासनहीन र गैरकानुनी भन्दै कर्मचारी संगठनहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न र छानबिन सहज बनाउन राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार महानगरभित्रका केही कर्मचारी र सल्लाहकारहरूको व्यवहारले आम कर्मचारीमाझ वितृष्णा फैलाउने काम गरेको र गलत प्रचारमार्फत कर्मचारीहरूलाई असहयोगी देखाउने प्रवृत्ति मौलाएको आरोप लगाइएको छ। साथै, कानूनी मान्यता नपाएका समिति र संयन्त्रहरूलाई आधार बनाएर बाह्य व्यक्तिलाई नियुक्ति दिने प्रचलन पनि तत्काल अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।
उनीहरूले मेयर बालेन शाहसँग समन्वयमा रही समृद्ध महानगर बनाउने आफ्नो प्रतिवद्धता दोहोर्याउँदै कार्यालयको मर्यादा र कानुनी प्रक्रिया कायम राख्न आग्रह गरेका छन्।
मागपत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया