अर्थमन्त्री पौडेलले भने, “राजतन्त्र फर्काउन खोज्नु भनेको ‘मसान घाटबाट मुर्दा व्युँत्याउने’ जस्तै असम्भव कुरा हो”
नेपालका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयासलाई ‘मसान घाटबाट मुर्दा व्युँत्याउने’ जस्तै असम्भव रहेको टिप्पणी गरेका छन्। उनका अनुसार, नेपालमा अब कहिल्यै पनि राजतन्त्र फर्काउन सकिने छैन। राजतन्त्रवादीहरू हिंसा, आतंक, लुटपाटको पक्षपाती छन् र नेपाली जनताको मौलिक अधिकारहरूको विरोधी छन् भन्ने कुरा गत शुक्रबारको घटनाले पुष्टि गरेको उनले बताए।
पौडेलले लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले अब राजतन्त्रवादीहरूले कहिल्यै शीर उठाउन नसक्ने गरी लोकतन्त्रलाई परिष्कृत गर्दै अघि बढाउन आवश्यक रहेको धारणा राखे। उनले अधिनायकवाद, निरंकुशता, हिंसा, आतंक र प्रतिगमनका पक्षधरहरूलाई परास्त गर्न र उनीहरूलाई किनारा लगाउन गणतन्त्र समर्थकहरू एकजुट हुनुपर्नेमा जोड दिए।