अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक भएको दाबी गर्दै सरकारको आर्थिक वृद्धि लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको बताए।
उनका अनुसार बजेटमा स्रोत व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरक छ, र संविधानको अधिकार सूची, कार्यविस्तृति प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्डअनुसार अपवादबाहेक तीन करोड रुपैयाँभन्दा साना आयोजना संघीय सरकारले नल्याउने नीति लिएको हो। अपवादस्वरूप क्रमागत आयोजना, भुक्तानी दायित्व बाँकी रहेका, संघीय सरकारको एकल अधिकार क्षेत्रभित्रका विषय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित योजनाहरूमा भने तीन करोडभन्दा कम विनियोजन गर्न सकिनेछ।
पौडेलले पुँजीगत खर्च चालु वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि गरिएको जानकारी दिँदै साधारण खर्च घटाउने र पुँजीगत खर्च बढाउने दिशामा सरकारले प्रयास गरिरहेको बताए। उनले बजेट तर्जुमा गर्दा सबै मन्त्रालयहरूलाई आवश्यक निर्देश दिइएको उल्लेख गर्दै तीन करोडभन्दा साना आयोजना कदाचित विनियोजन भए पनि तिनीहरू प्रदेश वा स्थानीय तहमार्फत कार्यान्वयन हुने स्पष्ट पारे।
उनको भनाइमा, बजेटले तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सम्भव छ र त्यो सरकारको क्षमता भित्रको कुरा हो। उनले संसद्मा उठेका विभिन्न जिज्ञासालाई सम्मान गर्दै बजेटको संरचना र सीमाबारे पुनः प्रष्ट पारे।















प्रतिकृया