उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले भन्सार मूल्याङ्कनमा ‘सन्दर्भ मूल्य’को व्यवस्था हटाएर वास्तविक ‘कारोबार मूल्य’लाई आधार बनाउने निर्णय गरेको बताएका छन्। यसले कम मूल्यमा बीजक बनाएर हुने राजस्व छली (अन्डर इन्भोइसिङ) जस्ता समस्या समाधान गर्नेछ।
उनले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा भन्सार प्रणालीलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन नयाँ भन्सार विधेयक ल्याइएको स्पष्ट पारे। सरकारले प्रविधिको प्रयोगमार्फत भन्सार छली र चुहावट नियन्त्रणमा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ विधेयकले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउनेसहित स्वदेशी उद्योग संरक्षण, निकासी प्रवर्द्धन, वैध व्यापारको सहजीकरण र अवैध व्यापार नियन्त्रण गर्ने लक्ष्य राखेको छ। उनले नेपालले अनुमोदन गरेको संशोधित ‘क्योटो महासन्धि’का प्रावधानहरू कार्यान्वयन गर्न पनि नयाँ कानुन आवश्यक भएको बताए।















प्रतिकृया