बोर्ड अध्यक्षलाई अर्थमन्त्रीले भने : मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, नतिजा निकाल्नुस्

बोर्ड अध्यक्षलाई अर्थमन्त्रीले भने : मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, नतिजा निकाल्नुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षा र हित संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले बोर्ड अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई कुनै पनि प्रकारको लोभ, प्रभाव वा दबाबमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

उनले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षा, बजारमा विश्वास अभिवृद्धि तथा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति बढाउने वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए ।

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,” अर्थमन्त्री डा.वाग्लेले भने, “म साथमा छु । सरकारले सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”

अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि स्पष्ट समयसीमासहितका योजना बनाएर अघि बढ्न अध्यक्ष भट्टलाई निर्देशन दिएका छन् । उनले हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षसम्मका कार्ययोजना तयार गरी काम गर्नुपर्ने बताए ।

बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने अवस्था अन्त्य गर्नुपर्ने भन्दै उनले नियमनकारी भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले बोर्ड अध्यक्ष भट्टलाई धेरै बोलेर नभई कामको परिणामबाट आफ्नो भूमिका प्रमाणित गर्न आग्रह गरे ।

“पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा कन्फिडेन्स बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,” अर्थमन्त्रीले भने, “मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन । धेरै बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

उनले मन्त्रालयबाट कुनै किसिमको हस्तक्षेप नहुने स्पष्ट पार्दै बोर्डको काममा आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

कार्यक्रममा नवनियुक्त बोर्ड अध्यक्ष डा. गोपालप्रसाद भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजार विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई बजारका लगानीकर्ताको हित तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न प्रयोग गर्ने बताए ।

अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजार विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स