महासङ्घ अध्यक्ष ढकालको प्रस्ताव: बूढीगण्डकी आयोजना तत्काल अघि बढाऔँ, स्रोत अपुग भए निजी क्षेत्र लगानी गर्न तयार

महासङ्घ अध्यक्ष ढकालको प्रस्ताव: बूढीगण्डकी आयोजना तत्काल अघि बढाऔँ, स्रोत अपुग भए निजी क्षेत्र लगानी गर्न तयार

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् ।

त्यस अवसरमा उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताएका छन् ।

नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युत् विकाससँगै खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायका सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताएका छन् । उनले धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम र व्यवसायमा लगानी गर्न एनडिपी तयार रहेकोसमेत उल्लेख गरेका छन् । अध्यक्ष ढकालले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट तथा स्रोतमा सम्पन्न गर्ने गरेको बताएका छन् ।

“गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट तथा स्रोतमा सम्पन्न गर्ने गरेका छौँ,” उनले भनेका छन् ।

उनले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभीत भएको बताएका छन् । “निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सिर्जना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधैँ उपेक्षित भएको छ,” उनले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स