गत साता २६६१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १.८७ प्रतिशत अर्थात् ४९.७९ अंक घटेर २६११.८५ अंकमा झरेको छ। यो साता सेयरबजार चार दिन मात्रै खुलेको थियो। सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो भने बाँकी चार दिन बजार लगातार घटेको हो।
आइतबार १२.५३ अंक घट्दा १० अर्ब २० करोड रुपैयाँको कारोबार भएको थियो। त्यसपछि मंगलबार १४.८७ अंक घट्दा ९ अर्ब ६३ करोड, बुधबार १३.९६ अंक घट्दा ८ अर्ब ७३ करोड र बिहीबार ८.४१ अंक घट्दा कारोबार रकम घट्दै ७ अर्ब ८ करोडमा खुम्चिएको छ। बजार घटेसँगै अधिकांश समूह पनि ओरालो लागेका छन्। यद्यपि होटल तथा पर्यटन समूह ७.३० प्रतिशतले बढ्दै उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यो। साथै विकास बैंक समूह पनि १ प्रतिशतले उकालो लाग्यो। बाँकी सबै समूह घटेका छन्, जसमा फाइनान्स समूह सबैभन्दा बढी ६ प्रतिशतले घटेको छ।
यस साता सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स रहेको छ। गत साताको अन्तिममा ४३४.७ रुपैयाँ रहेको ओम मेगाश्रीको सेयर मूल्य बढेर ६३६.२ रुपैयाँ पुगेको छ। कम्पनीको सेयरमूल्य ४६.३५ प्रतिशतले बढेको हो। दोस्रो धेरै बढ्नेमा उपकार लघुवित्त रहेको छ। उपकार लघुवित्तको सेयर मूल्य ३०२५.६ रुपैयाँबाट ३५४६.३८ रुपैयाँ पुग्दा १७.२१ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, क्रेस्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १८४७ रुपैयाँबाट २१५१.२ रुपैयाँ पुग्दा १६.४७ प्रतिशतले उकालो लागेको छ। लुम्बिनी विकास बैंकका लगानीकर्ताले पनि यस साता राम्रै नाफा कमाएका छन्। लुम्बिनी विकास बैंकको सेयर मूल्य १३.४४ प्रतिशतले बढेर ४७०.७८ रुपैयाँ पुगेको छ। साथै, सोल्टी होटलको सेयर मूल्य पनि ५११.१६ रुपैयाँबाट ५७१.८५ रुपैयाँ पुग्दा यो साता मात्रै ११.८७ प्रतिशतले वृद्धि भएको छ।अन्य कम्पनीहरु जस्तै: जोशी हाइड्रोपावरको ६.३५ प्रतिशत, तारागौउ रेजेन्सी होटलको ६ प्रतिशत, महालक्ष्मी विकासको ४.८५ प्रतिशत, ओरियन्टल होटलको ४.६२ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स को ४.५२ प्रतिशतले वृद्धि भएको छ।


प्रतिकृया