स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका विद्युत् आयोजना समयमै सम्पन्न नहुन सक्ने गम्भीर खतरा औंल्याएका छन्। शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले लगानी अभाव मुख्य चुनौती रहेको बताए।
“आईपीओ जारी गर्न नपाउँदा पुँजी संकलनमा समस्या भएको छ,” अध्यक्ष कार्कीले भने, “सरकारले यसतर्फ गम्भीर ध्यान दिन जरुरी छ, नत्र ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ।” उनका अनुसार हालसम्म ३६५ वटा विद्युत् आयोजना लाइसेन्स लिएर बसेका छन्, तर आवश्यक पुँजी अभावले ती प्रगतिको पाटोमा रोकिएका छन्। “५,६०० मेगावाट क्षमताका आयोजना लाइसेन्स लिई निर्माणको पर्खाइमा छन्,” उनले भने, “त्यसैगरी, १७,००० मेगावाटभन्दा बढी क्षमताका रन अफ रिभर आयोजना प्रस्तावित अवस्थामा छन्।”
कार्कीले विद्युत् खरिदसम्बन्धी हालको नीतिमाथि पनि गम्भीर प्रश्न उठाए। “चाहेको अवस्थामा मात्र विद्युत् किन्ने सरकारी नियमले उत्पादन भइसकेपछि पनि विद्युत् खपत नहुन सक्ने सम्भावना छ,” उनले चिन्ता व्यक्त गरे। खनाल आयोगको सिफारिसले पनि ऊर्जा क्षेत्रमा अन्योलता थपेको बताउँदै उनले स्पष्ट नीति र लगानीमैत्री वातावरण निर्माणको माग गरे। “ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले समयमै नीतिगत सुधार गर्न आवश्यक छ,” अध्यक्ष कार्कीले जोड दिए।











![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया