क्लक बी बिजनेस इनोभेसन्सले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन र व्यवसायको दिगो विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले ‘नेपालबी प्लेटफर्म’ सार्वजनिक गरेको छ। यो डिजिटल प्लेटफर्म २०८१ मंसिर २१ गते काठमाडौंमा आयोजना हुने कनेक्ट [IN] – चौथो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन मार्फत औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
“नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै” भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनमा ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहनेछ।यस कार्यक्रममा लघु, साना र मझौला उद्यम (MSMEs), लगानीकर्ता, उद्योग क्षेत्रका अगुवा, विकास साझेदार र सरकारी प्रतिनिधिहरू एकै स्थानमा भेला भएर उद्यमशीलताको सम्भावना र अवसरहरूबारे छलफल गर्ने कार्ययोजना रहेको आयोजनाले जनाएको छ।
यूएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (USAID) ट्रेड एन्ड कम्पेटिटिभनेसको सहकार्यमा निर्माण गरिएको नेपालबी प्लेटफर्मले नेपाली उद्यमीहरूलाई आफ्ना उत्पादन र सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन आवश्यक साधन र सुविधा उपलब्ध गराउनेछ। यो प्लेटफर्मले व्यवसायहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र व्यवसायको व्यवसायिक यात्रा मापन गर्न सहजीकरण गर्ने डिजिटल माध्यमहरू प्रदान गर्नेछ।
नेपालबी प्लेटफर्मले नेपाली व्यवसायलाई विश्वव्यापी डिजिटल बजारमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न सहयोग पुर्याउनेछ। साथै, यसले व्यवसायलाई लगानीकर्ता, परामर्शदाता, बैंकहरू र निर्यात अवसरहरूसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने छ।
कृषि, पर्यटन, र डिजिटल सेवाजस्ता क्षेत्रमा क्रियाशील २०० भन्दा बढी निर्यातमुखी व्यवसायहरूको प्रतिस्पर्धात्मकता वृद्धि गर्दै यो पहलले देशको आर्थिक उन्नयनमा योगदान दिने कम्पनीले जनाएको छ। यो प्लेटफर्मले नेपाली व्यवसायको डिजिटल परिवर्तनमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।



















प्रतिकृया