यो भिडियोमा सान्भि इनर्जी कस्तो कम्पनी हो, हाल कस्ता आयोजना सञ्चालन गरिरहेको छ, यसको वित्तीय अवस्था कस्तो देखिन्छ, व्यवस्थापनमा को-को छन्, कम्पनीले कति कित्ता आईपीओ ल्याउँदैछ, र सूचीकृत भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कस्तो ओपनिङ रेञ्ज निर्धारण गर्न सक्छ लगायतका विषयमा जानकारी प्रस्तुत गर्नेछौ ।
भिडीयोको सुरुवातमा आइपीओ जारी गर्न लागेको यो कस्तो कम्पनी हो र के काम गर्छ भन्ने बारेमा बुझौ ।
कम्पनीको नाम बाटनै तपाईंहरुले कम्पनीले के गर्छ भन्ने बुझिसक्नु भएको होला। सान्भि इनर्जी Hydropower कम्पनी हो। कम्पनीले अहिले दुई आयोजना सञ्चालन गरिरहेको छ।
निजी क्षेत्रको लगानीमा जलविद्युत् उत्पादनको लक्ष्यसहित विक्रम सम्वत २०६८ सालमा स्थापना भएको सान्भि इनर्जीले पूर्वको इलाम जिल्लाको माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा रहेको जोगमाई खोलाको पानी प्रयोग गरी ७.६ मेगावाटको साना जलविद्युत आयोजना संचालनमा ल्याइसकेको छ भने ५.२ मेगावाटको जोगमाई क्यासकेड आयोजनाको निर्माण तीव्र गतिमा अगाडि बढाइरहेको छ।
अब कम्पनीले प्रवर्धन गरेको पहिलो आयोजनाको केही थप कुरा गर्दा, ७.६ मेगावाट क्षमताको रन अफ रिभर जोगमाई खोला साना जलविद्युत आयोजनाको निर्माण पूरा भएर २०७४ साल वैशाख १८ गतेदेखि निरन्तर व्यावसायिक उत्पादन सुरु गर्दै आइरहेको छ।
आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख रुपैयाँ छ। आयोजनाको विद्युत अनुमति अवधि अझै २३ वर्ष १ महिना बाँकी रहेको कम्पनीले जनाएको ।
यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.२९ वर्ष रहेको छ।
यस आयोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग वर्षातमा प्रति युनिट ४ रुपैयाँ ८० पैसा र जाडो याममा ८ रुपैयाँ ४० पैसाका दरले विद्युत बिक्री गर्ने सम्झौता भएको छ।
सान्भि इनर्जीले हाल निर्माण गरिरहेको दोस्रो आयोजना ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजना हो।
यस आयोजनाको अनुमानित लागत १ अर्ब ९१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब १९ करोड ४० लाख रुपैयाँ आँकलन गरिएको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।
कम्पनीले आगामी वर्ष २०८२ साल वैशाख १५ गते व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
अब कम्पनीको पूँजी संरचना बारे कुरा गरौं:
कम्पनीको अधिकृत पूँजी भनेको कम्पनीले कुल कति शेयर जारी गर्न सक्ने हो भन्ने अधिकतम रकम हो। सान्भि इनर्जीको अधिकृत पूँजी ८८ करोड रुपैयाँ छ।
यस्तै चुक्ता पूँजी भनेको अहिलेसम्म शेयरधनीहरूबाट कम्पनीले पाएको वास्तविक रकम हो। अहिले संस्थापक समूहबाट चुक्ता भएको पूँजी ५० करोड १० लाख रुपैयाँ रहेको छ।
अब आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर र सर्वसाधारणलाई २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता सेयर जारी गरी बाँडफाँड गरेपछि कम्पनीको कुल चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ।
सेयर जारी गरेपछि, संस्थापक समूहले कम्पनीको ५६.९३% स्वामित्व राख्नेछ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्व १०% र कर्मचारी सहित सर्वसाधारण सेयरधनीहरूको स्वामित्व ३३.०७% हुनेछ।
अब कुरा गरौ कम्पनीको वित्तीय अवस्थाका बारेमा
पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा कम्पनीको बिक्री आम्दानी लगातार घट्दो क्रममा देखिएको छ। यद्यपि कम्पनीको कुल नाफा र संचित नाफा भने बढेको छ।
पहिले कुरा गरौ बिक्री आम्दानी को
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको बिक्री आम्दानी २४ करोड ४५ लाख रुपैयाँ रहेको थियो। तर, त्यसपछिको वर्ष २०७९/८० मा यो आम्दानी १५.६३% ले घट्दै २० करोड ६३ लाख ६९ हजार रुपैयाँमा झर्यो।
गत आर्थिक वर्ष २०८०/८१ मा बिक्री आम्दानी अझै २.१० प्रतिशतले घटेर २० करोड २० लाख ४३ हजार रुपैयाँमा सीमित भएको थियो।
अब भने कम्पनीले आम्दानीमा सुधार हुने अपेक्षा गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा बिक्री आम्दानी ३० करोड ८८ लाख रुपैयाँ पुग्ने र आगामी दुई वर्षमा क्रमशः ४२ करोड ४९ लाख रुपैयाँ र ४२ करोड ९७ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
दोश्रोमा कुल आम्दानी
२०७८/७९ मा कम्पनीको कुल आम्दानी २३ करोड ८५ लाख ८१ हजार रुपैयाँ थियो। तर २०७९/८० मा यो ८.८६% ले घटेर २१ करोड ७४ लाख ६४ हजार रुपैयाँमा सीमित रह्यो।
गत आर्थिक वर्षमा भने कुल आम्दानीमा उल्लेखनीय सुधार देखिएको हो । कुल आम्दानी २४.७४% ले बढेर २७ करोड १२ लाख ७९ हजार रुपैयाँ पुगेको थियो।
कम्पनीले चालु आर्थिक वर्ष मा कुल आम्दानी ३१ करोड ७९ लाख रुपैयाँ पुग्ने र आगामी दुई वर्षमा क्रमशः ४२ करोड ४९ लाख र ४२ करोड ९७ लाख रुपैयाँसम्म पुग्ने अपेक्षा राखेको छ।
जगेडा तथा कोष
सान्भि इनर्जीको जगेडा तथा कोष २०७८/७९ मा २ करोड ७८ लाख ७ हजार रुपैयाँ रहेको थियो। २०७९/८० मा यो ८.२०% ले बढेर २ करोड २४ लाख ९५ हजार रुपैयाँ पुगेको थियो।
गत आर्थिक वर्षमा ३६१.६१ प्रतिशतले बढेर रेजर्भ १० करोड ३८ लाख ८६ हजार रुपैयाँ पुगेको थियो।
कम्पनीले रिजर्भ चालु आर्थिक वर्षको अन्त्यमा १८ करोड ७७ लाख पुग्ने र आगामी दुई वर्षमा जगेडा तथा कोष क्रमशः २८ करोड ४७ लाख, र ४० करोड ७५ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा कम्पनीको खुद नाफा १९ करोड ९० लाख रुपैयाँ थियो भने बिक्री आम्दानी १० करोड ७२ लाख रुपैयाँ थियो।
गत आषाढ मसान्त सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा थियो भने प्रति सेयर आम्दानी १७ रुपैयाँ ३ पैसा छ।
कम्पनीको अन्य वित्तीय विवरणहरू तपाईंले नेपाल धितोपत्र बोर्डको वेबसाइट बाट कम्पनीको आवहान पत्रमा पढ्न सक्नुहुनेछ।
अब कुरा गरौँ सान्भि इनर्जीको व्यवस्थापन पक्षको बारेमा
कम्पनीको अध्यक्षमा अनुप आचार्य रहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादक हरुको संस्था इप्पानका सल्लाहकार समेत रहेका आचार्यसँग कम्पनीको सबैभन्दा बढी ३ लाख २८ हजार ७ सय ८७ कित्ता सेयर छ। पूर्वाधार निर्माण क्षेत्रमा ३१ वर्षभन्दा बढीको अनुभव बोकेका आचार्यले व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका छन्।
कम्पनीका प्रबन्ध सञ्चालकमा भानुभक्त पोख्रेल रहेका छन्, उनि कम्पनीका दोश्रो ठूला सेयरधनी समेत हुन्।
त्यस्तै, कम्पनीका स्वतन्त्र सञ्चालकमा चार्टर्ड अकाउन्टेन्ट नारायण प्रसाद पौड्याल रहेका छन्। अन्य सञ्चालकहरूमा दीपक बराल, हरिबाबु न्यौपाने, वन्दना पोख्रेल, र श्रेयन पोख्रेल रहेका छन्।
कम्पनिको IPO TIMELINE
सान्भि इनर्जीलाई नेपाल धितोपत्र बोर्डले गत चैत्र ११ गते प्रतिकित्ता १०० रुपैयाँको दरले ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले कुल ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले गत वैशाख ५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुल्ला गरेको थियो।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुन ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।
सँगै कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि प्रति कित्ता १०० रुपैयाँका दरले २ लाख ९१ हजार कित्ता सेयर बिक्री गरी सकेको छ।
आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आइपीओ २.६८ गुणले OVER SUBSCRIBED भएको थियो भने वैदेशिक रोजगार रहेका नेपालीहरुले माग भन्दा ४.३४ प्रतिशतले आवेदन दिएका थिए।
कम्पनीले पहिलो चरणमा निष्काशन गरेको आइपीओ गत वैशाख ३१ गते बाँडफाँड गरेको थियो।
वैशाख ९ गतेदेखि कम्पनीले दोश्रो चरणमा तपाईं हामी सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन गरिसकेको छ।
अब दोश्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
तपाईंले आइपीओमा जेठ १३ गते अर्थात आगामी मंगलबार सम्म आवेदन दिन सक्नुहुनेछ। जेठ १३ गतेसम्म आवेदन नपरेमा जेठ २३ गते सम्म आइपीओमा आवेदन दिने समय थपिने कम्पनीले जनाएको छ। तर आइपीओको पछिल्लो ट्रेन्ड हेर्दा आइपीओ पहिलो दोश्रो दिनमै Over Subscribed हुने गरेको हुँदा सान्भि इनर्जीको आइपीओ आगामी मंगलबार सम्म भरिसक्नु उपयुक्त हुन्छ।
तपाईंले यो आइपीओ न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नु हुनेछ। कम्पनीको IPO Over Subscribed हुने निश्चित देखिएको हुँदा तपाईंले १० कित्ता सेयरका लागि आवेदन दिँदा हुने देखिन्छ।
आइपीओमा तपाईंले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नुहुनेछ।
कम्पनीलाइ रेटिङ् एजेन्सी केयर रेटिङ्स नेपालले समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
सान्भि इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
सान्भि इनर्जीको आईपीओ जारि गरेर बाँडफाँट भइसकेपछि कम्पनीको सेयर दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुन्छ। नेप्सेले सूचीकृत कम्पनीलाई पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज तोक्छ।
ओपनिङ रेञ्ज भनेको कम्पनीको सेयरको पहिलो कारोबारका लागि तय गरिने निश्चित मूल्य सीमा हो। नेप्सेले कम्पनीको वास्तविक नेटवर्थ (प्रति सेयर नेटवर्थ) को आधारमा यो मूल्य सीमा निर्धारण गर्छ। सामान्यतया, नेटवर्थको न्यूनतम मूल्यलाई ओपनिङ रेञ्जको तल्लो सीमा र सोको तीन गुणासम्मलाई माथिल्लो सीमा बनाइन्छ।
यसअनुसार, सान्भि इनर्जीको पहिलो कारोबारको लागि न्यूनतम मूल्य १२० रुपैयाँ ७४ पैसा देखि अधिकतम मूल्य ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ रेञ्ज नेप्सेले तोक्ने छ।







![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-768x432.jpg)
![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)
![थोरै पैसामा गर्न सकिने बिजेनसहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-3-768x432.jpg)
![कस्तो रहला डा. भट्टको कार्यशैली ?, पूँजी बजारले खोजेको सुधारको सुरुवात हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-2-768x432.jpg)

![सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/qMcF0IIfXKg-SD.jpg)





प्रतिकृया