पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशमा व्यापक भ्रष्टाचार रहेको बताएका छन्।
आइतबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले “देशभर भ्रष्टाचार नै भ्रष्टाचार व्याप्त छ” भन्दै सरकारका वरिपरि अनियमितता मौलाएको आरोप लगाए।
खनालले नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङलाई हटाउनु पछाडि भ्रष्टाचार भएको दाबी गर्दै भने, “तीन महिना मात्रै कार्यकाल बाँकी रहँदा उनलाई जबरजस्ती, निर्ममतापूर्वक र स्वार्थपूर्ण रूपमा हटाइयो।”
उनका अनुसार हाल कम्तीमा ४ हजार मेगावाटका जलविद्युत् योजनाहरूको पावर खरिद सम्झौता (PPA) हुने समय चलिरहेको छ। यही प्रक्रियामा ६ देखि ८ अर्ब रुपैयाँको लेनदेन हुन लागेको उनको दाबी छ।
खनालले देशमा बेरोजगारी उच्च भएको र भ्रष्टाचारका कारण विकास प्रक्रियामा अवरोध आइरहेको बताए। उनका अनुसार “मन्त्रालयदेखि सरकारी निकायसम्म भ्रष्टाचार नै भ्रष्टाचार छ, जसले देशको समग्र प्रणालीलाई प्रभावित गरिरहेको छ।”
उनले वर्तमान सरकारलाई भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न आग्रह गरे।















प्रतिकृया