पर्यटन मन्त्रीले पोखरा विमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो

पर्यटन मन्त्रीले पोखरा विमानस्थल नचलाएकोमा सञ्चारमन्त्रीको गुनासो

नेपाल सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्री, पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा ढिलाइ भएकोमा दुःख व्यक्त गरेका छन्।

शनिबार पोखरामा आयोजित २६औं सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले २० बुँदे कार्ययोजना पारित गरेको २-३ महिना बितिसकेको भए पनि ती कार्ययोजनाको कार्यान्वयनमा प्रगति नभएको प्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, “कार्ययोजना कार्यान्वयन गर्नका लागि संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले बढी सक्रियता देखाउनु पर्ने हो।” अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि स्वास्थ्य परीक्षण, भिसा अनुमति, सामान आयात–निर्यातको भन्सार लगायतका प्रक्रिया सम्बन्धित विमानस्थलमै हुनुपर्नेमा पनि मन्त्री गुरुङले जोड दिए।

पोखराबाट अन्तर्राष्ट्रिय उडानसहित अन्य ६ प्रदेशलाई हवाई सञ्जालमा जोड्नुपर्ने आवश्यकताको महत्त्व पनि उनले औँल्याए। पोखरालाई पर्यटन, शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्न सकिने विश्वास उनले व्यक्त गरे। “यहाँ डेटा सेन्टरको निर्माण र माउन्टेन फ्लाइटको माध्यमबाट गण्डकी प्रदेशका हिमशृङ्खलाहरूको पर्यटन विकास अघि बढाउन सकिन्छ,” उनले थपे।

मन्त्री गुरुङले पोखराको विकासका लागि संघको मुख ताकेर बस्नु नपर्ने उल्लेख गर्दै, पोखराको विकासलाई गति दिन स्थानीय स्तरबाट आवश्यक कदम उठाउनुपर्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स