बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानीमैत्री वातावरण निर्माणतर्फ महत्वपूर्ण आधार तयार गरेको जनाएको छ।
आइतबार जारी विज्ञप्तिमा सिबिफिनले बजेटमार्फत अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरूको स्वागत गर्दै सुस्ताएको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन बजेटले आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको उल्लेख गरेको छ।
सिबिफिनका अनुसार पछिल्लो समय निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’को मनोवृत्ति, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था तथा बढ्दो खराब कर्जाको चुनौतीबीच आएको बजेटले आर्थिक गतिविधि विस्तारमा सकारात्मक सन्देश दिएको छ।
परिसंघले विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकास र लगानीमैत्री वातावरण निर्माणलाई सकारात्मक कदमका रूपमा लिएको छ।
यस्तै, बैंकिङ क्षेत्रमा चुनौतीका रूपमा रहेको खराब कर्जा तथा गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणालाई सिबिफिनले ऐतिहासिक, दूरदर्शी र समयसापेक्ष निर्णयको संज्ञा दिएको छ।
विज्ञप्तिमा व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दरको पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाले आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
सिबिफिनले बजेटका जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आर्थिक पुनरुत्थान, वित्तीय स्थायित्व, लगानी विस्तार तथा दिगो आर्थिक वृद्धिका लागि सरकारसँग निकट सहकार्य गर्न पूर्ण प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिकृया