चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा (साउन–कात्तिक) बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्तबाहेक)को खुद नाफा घटेको देखिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार, बैंकहरूको कुल खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १४.७१ प्रतिशतले घटेर २१ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष यसै अवधिमा उक्त नाफा २४ अर्ब ९९ करोड रुपैयाँ थियो।
वाणिज्य बैंकहरूको नाफा पनि उल्लेख्य रूपमा घटेको छ। गत वर्ष कात्तिकसम्म २२ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका २० वाणिज्य बैंकले चालू वर्षको पहिलो पाँच महिनामा १९ अर्ब ३७ करोड रुपैयाँ मात्रै कमाउन सके, जसले वाणिज्य बैंकहरूको कुल नाफा १३.११ प्रतिशतले संकुचित भएको देखाउँछ।
यो अवधिमा चारवटा वाणिज्य बैंकले मात्रै आफ्नो नाफा वृद्धि गर्न सकेका छन्। तीमध्ये राष्ट्रिय वाणिज्य बैंकले १०५.२३ प्रतिशत नाफा वृद्धि गरी सबैलाई पछाडि पारेको छ भने सानिमा बैंकले १९.६५ प्रतिशत, ग्लोबल आइएमई बैंकले १८.९१ प्रतिशत र एभरेष्ट बैंकले ०.२७ प्रतिशत नाफा बढाउन सफल भएका छन्। बाँकी १६ वाणिज्य बैंकहरूको खुद नाफा ०.७५ प्रतिशतदेखि १३२.९० प्रतिशतसम्म घटेको छ। यीमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको नाफा १३२.९ घटेको छ भने सबैभन्दा कम सिद्धार्थ बैंकको नाफा घटेको तथ्यांकले देखाउँछ।
ग्लोबल आइएमई बैंकले कात्तिकसम्म सबैभन्दा धेरै २ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ। त्यसपछि नबिल बैंकले २ अर्ब ४६ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब ५८ करोड रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।




















प्रतिकृया