बैंकहरूले आर्थिक वर्ष सकिएपछि असुल भएको ब्याजबाट लाभांश बाँड्न नपाउने
अब बैंकहरूले आर्थिक वर्ष सकिएपछि असुल भएको ब्याजलाई अघिल्लो वर्षको आम्दानीको रुपमा देखाएर लाभांश वितरण गर्न नपाउने भएका छन् बैंकहरुले आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएको ब्याजलाई अघिल्लो वर्षको आम्दानीको रुपमा देखाएर लाभांश दिदै आएका थिए, तर नयाँ व्यवस्था अनुसार आर्थिक वर्षका मसान्तसमम असुल भएको ब्याजको मात्रै आम्दानी जनाउने पाइने भएको हो ।
राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार, कर्जा ब्याज आम्दानी प्रोदभावी आधार (Accrual Basis) अनुसार लेखा किताबमा राखिन्छ। प्राप्त हुन बाँकी ब्याज आम्दानीबाट आयकर, कर्मचारी बोनस, साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष कट्टा गरी बाँकी रकम सञ्चित मुनाफा (Retained Earnings) बाट खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
‘इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम लेखाइन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये यस बैंकको निर्देशन बमोजिम प्रोदभावी आधार (Accrual Basis) मा लेखाङ्कन गरिने व्याज आम्दानीमध्ये प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) लाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्नेछ । उक्त ब्याज रकम प्राप्त हुन आएमा नियमनकारी कोषबाट सञ्चित मुनाफा (Retained Earning) मा फिर्ता गर्न सकिनेछ ।’ संशोधित व्यवस्थामा भनिएको छ ।





