सेयर बजारमा घाटा खाएर मानसिक तनावमा हुनुहुन्छ ? यी हुन् बुझ्नैपर्ने केहि कुराहरु

अनिता त्रिपाठी
अनिता त्रिपाठी
२०८२ श्रावण ३० गते
सेयर बजारमा घाटा खाएर मानसिक तनावमा हुनुहुन्छ ? यी हुन् बुझ्नैपर्ने केहि कुराहरु

जीवन सधैं हाम्रो योजना अनुसार अघि बढ्दैन। कतिपय घटना हाम्रो सोच र चाहनाभन्दा विपरीत ढंगले पनि घट्न सक्छन्। यस्तो अवस्थामा आफूलाई र परिस्थितिलाई सम्हाल्ने तरिका जान्न अति आवश्यक हुन्छ।

विशेषगरी सेयर बजारजस्तो संवेदनशील क्षेत्रमा लगानी गर्दा अचानक ठूलो घाटा व्यहोर्नु परेपछि मानिस भावनात्मक रूपमा कमजोर बन्ने सम्भावना बढी हुन्छ। नेपालको सन्दर्भमा जहाँ वित्तीय साक्षरताको स्तर अझै कमजोर छ धेरै परिवारलाई सेयर बजारबारे पर्याप्त ज्ञान छैन। यस्ता परिवारका सदस्य विशेषगरी युवाहरू बुबाआमाबाट पैसा लिएर सेयरमा लगानी गर्छन्। तर बजार ओरालो लागेपछि घाटाको खबर उनीहरूका लागि मात्र होइन पूरै परिवारका लागि आघात बन्छ।

परिवारका सदस्यहरूले बजारको उतारचढावलाई सामान्य प्रक्रिया भनेर बुझ्दैनन्। बरु उनीहरू सिधै आफ्ना छोराछोरीमाथि आरोप लगाउन थाल्छन्। यस्तो अवस्थाले युवालाई दुई छेउबाट मानसिक तनावको चपेटामा ल्याउँछ। न त उनीहरू आफैंलाई सम्हाल्न सक्छन् न त परिवारलाई बुझाउन। फलस्वरूप घाटा उठाउने उपायबारे सोच्नुको सट्टा उनीहरू आत्मग्लानी, निराशा र एक्लोपनमा फस्न थाल्छन्।

यस्तो अवस्थामा व्यक्तिले यी कुराहरु बुझ्नुपर्छ। सेयर बजारमा घाटा हुनु नयाँ कुरा होइन। हरेक अनुभवी लगानीकर्ताले यस्तो अनुभव कम्तिमा एकपटक त गरेका नै हुन्छन्। फरक यति मात्र हो कोही त्यसबाट सिक्छन र कोही त्यसमै अल्झिरहन्छन अझ कति त बजारबाटै सधैंको लागि बाहिरिन्छन्।

यो समयमा आफैंलाई दोष दिनु भन्दा भएको घटनालाई बुझ्ने कोसिस गर्नु राम्रो हुन्छ। किन घाटा भयो ? मैले धेरै जोखिम लिएँ कि ? आफुले अनुसन्धान नगरी अरुको मात्रै कुरा सुनेर लगानी गरेँ कि ? यस्ता कुरा सोच्दा भविष्यमा उही गल्ती नदोहोऱ्याउने पाठ मिल्छ।

अब कुरा गरौँ आफ्नो मानसिक स्वास्थ्यलाई कसरी ध्यान दिने र कसरी पोजेटिभ माइन्डसेट बनाउने भन्ने तर्फ। सबैभन्दा सुरुमा तपाईंले सेयरको घाटा पछि निराश महसुस गर्न थाल्नुभएको छ भने जर्नलिङ (लेख्ने बानी) निकै फाइदाजनक हुन सक्छ। आफूलाई लागेका कुरा, दिन भर भएका दैनिकीहरु लेख्दा मनमा कुराहरु गुम्सिएर बस्दैन जसले गर्दा तपाइलाई धेरै नकारात्मक सोचहरु आउदैन।

त्यस्तै घाटा भएको बेला नकारात्मक आदततर्फ नलाग्नुहोस् । दिनरात सोसल मिडियामा बस्ने र आफुलाई विश्लेषक भन्दै बजार सम्बन्धी अनेक टिकाटिप्पणी गर्नेहरुलाई फलो गर्ने कामहरु बन्द गर्नुपर्छ । बजारसँग सम्बन्धित केही भरपर्दा मिडिया र विश्लेषकहरूलाई मात्र फलो गर्ने र सकरात्मक सन्देश दिने खबरहरू मात्रै हेर्ने बानी बसाल्नुपर्छ।

साथै, मदिरा सेवन गर्ने वा अत्यधिक चिन्ताले रातभरि नसुतेर निद्रा बिगार्ने बानी हटाएर त्यसको सट्टा तपाईले नयाँ सीपहरु सिक्ने, लगानीबारे विभिन्न पुस्तकहरु पढ्ने, आफूलाई धेरै भन्दा धेरै व्यस्त राख्ने, आफ्नो मानिसक स्वास्थ्यलाई हानी पुर्याउने नेगेटिभ व्यक्तिहरुबाट समेत टाढा बस्दा आफ्नो मानसिक स्वास्थ्य बलियो बनाउन सकिन्छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स