औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा (लोन) लिन इच्छुक योग्य उद्यमीहरूबाट आवेदन माग गरेको छ। प्रतिष्ठानले आज सूचना जारी गर्दै परियोजना प्रस्तावसहित आवेदन मंसिर १० गतेसम्म पेस गर्न आग्रह गरेको हो।
सूचनाअनुसार, कर्जा लिन चाहने उद्यमीले कार्यविधिको दफा ४ अनुसारको योग्यता पूरा गरेको हुनुपर्छ। साथै, सम्बन्धित क्षेत्रमा नवीन सोच, ज्ञान, सीप र क्षमता भएको हुनुपर्ने उल्लेख गरिएको छ।
उद्योगमन्त्री अनिलकुमार सिन्हाले केही साताअघि सार्वजनिक कार्ययोजनामा माघभित्र प्रारम्भिक छनोट गर्ने लक्ष्य राखेका थिए, सोहीअनुसार प्रतिष्ठानले आवेदन आह्वान गरेको हो।
गत कात्तिक १४ गते संशोधित कार्यविधिअनुसार, स्टार्टअप उद्यम कर्जाको सीमा घटाएर २५ लाखबाट २० लाख रुपैयाँ गरिएको छ। उद्यमीले अब बिनाधितो ३ प्रतिशत ब्याजदरमा अधिकतम २० लाख रुपैयाँ कर्जा पाउनेछन्।
गत आव २०८१/८२ मा छनोट भएका ६६१ मध्ये ६०० उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ वितरण गरिएको थियो। चालू आव २०८२/८३ का लागि यो बजेट घटाएर ७३ करोड रुपैयाँ तोकिएको प्रतिष्ठानले जनाएको छ।
परियोजना प्रस्ताव अनलाइन मार्फत https://sams.iedi.gov.np बाट पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट मा उपलब्ध छ ।


प्रतिकृया