नेपाल राष्ट्र बैंकले ५ रुपैयाँका १५ करोड सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्‍यो

Nov 29, 2026

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले रु ५ दरका १५ करोड थान सर्वसाधारण प्रयोगमा आउने सिक्का (सर्कुलेशन कोइन्स) डिजाइन, मिन्टिङ (सिक्का ढलाइ), आपूर्ति तथा डेलिभरी गर्नका लागि पूर्व-योग्य (Pre-qualified) सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट सिलबन्दी बोलपत्र (इन्भिटेसन फर बिड्स) आह्वान गरेको छ। बैंकले २०२६ नोभेम्बर २९ (२०८३ मंसीर १३) मा सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र (ICB) मार्फत दुई खाम प्रणाली (Single Stage Two Envelope Procedure) अन्तर्गत यो प्रक्रिया अघि बढाएको सूचनामा उल्लेख छ।

बोलपत्र सम्बन्धी कागजातहरू नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली तथा सिक्का विभाग बबरमहलबाट खरिद गर्न सकिनेछ। यसका लागि नेपाली रुपैयाँ २०,००० वा अमेरिकी डलर १३२ वा युरो ११८ गैर-फिर्ताहुने दस्तुर बैंक खातामा जम्मा गरेको प्रमाण पेस गर्नुपर्नेछ। बोलपत्र कागजात खरिद गर्ने अन्तिम मिति २०२६ डिसेम्बर २८ सम्म तोकिएको छ। यस्तै, प्रि-बिड बैठक २०२६ डिसेम्बर ११ मध्याह्न १२:०० बजे आयोजना गरिनेछ भने सिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम समय २०२६ डिसेम्बर २९ मध्याह्न १२:०० बजेसम्म रहेको छ। पेश गरिएका बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे बोलपत्रदाता वा तिनका प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ।

सम्बन्धित पूर्व-योग्य कम्पनीहरूले बोलपत्र पेश गर्दा कम्तीमा अमेरिकी डलर १२७,००० वा सो सरहको बैंक जमानत (Bid Security) पेश गर्नुपर्नेछ, जसको अवधि बोलपत्र पेश गर्ने अन्तिम मितिपछि थप ३० दिन (अर्थात २०२७ मे २८ सम्म) कायम रहनुपर्नेछ। नेपाल राष्ट्र बैंकले पूर्ण वा आंशिक रूपमा बिना कुनै कारण बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ।

थप जानकारीका लागि आधिकारिक सूचना हेर्नुहोस्:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स