आन्दोलनबीचै राप्रपाका सांसदहरू बजेट सुन्न संसद आउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आन्दोलन र संसद दुवै कार्यक्रमलाई समय मिलाएर सहभागी हुने भएका छन्।
आज (बिहीबार) काठमाडौंको रत्नपार्कमा नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आयोजना गर्न लागेको आन्दोलनमा राप्रपाले पनि समर्थन जनाउँदै सहभागी हुने जनाएको छ। यो आन्दोलन दिउँसो २ बजे सुरू हुने बताइएको छ।
त्यसै दिन, अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ, जसमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिनेछ। समय जुधेकाले राप्रपाका सांसदहरू आन्दोलनमा केही समय सहभागी भई संसद बैठकमा पनि उपस्थिति जनाउने भएका छन्।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, “हामी त दुवैतिर भ्याउनुपर्यो नि। समय जुधेको छ, तर मिलाएर जान्छौं।”
उनका अनुसार सांसदहरू संसद बैठकमा केहीबेर सहभागी भए पनि आन्दोलनमा बढी समय दिनेछन्। “बजेट त संशोधन हुने होइन, हाम्रो कुरा राखिने पनि होइन। आज त हाम्रो पार्टीको स्थापना दिवस पनि हो। त्यसैले समय व्यवस्थापन गरेर दुवै काममा सहभागी हुन्छौं,” शाहीले बताए।