प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण उपत्यका बाहिरको यात्रा नगरी शुक्रबारका सबै निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्। दुई दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार उनले कार्यक्रमहरू भर्चुअल रुपमा सञ्चालन गर्ने निर्णय गरेका हुन्।
शुक्रबार प्रधानमन्त्रीका चारवटा मुख्य कार्यक्रम तय भएका थिए। बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटन भर्चुअल माध्यमबाट सम्पन्न हुनेछ।
त्यसपछि, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रम पनि भर्चुअल माध्यमबाटै सम्पन्न गरिनेछ। आयोजनाका अनुसार १,१२६ मिटर लामो मुख्य सुरुङको बाँकी रहेको साढे १ मिटर खन्ने काम आज सम्पन्न हुनेछ। यसअघि १५१, २६१ र ३३० मिटर लम्बाइका तीन सहायक सुरुङहरूको ब्रेक थ्रु क्रमशः भदौ २६, असोज ४ र पुस ७ मा सम्पन्न भइसकेको थियो।
यस्तै, दिउँसो १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिनेछ। प्रधानमन्त्रीको सचिवालयले भर्चुअल कार्यक्रमहरूको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया