नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्।
अर्थ मन्त्रालयका अनुसार आवेदन दिने ८ जनामध्ये छनोट समितिले ५ जनालाई सर्टलिस्ट गर्नेछ। सर्टलिस्टमा परेकाले कार्ययोजना प्रस्तुत गरेपछि समितिले ३ जनाको नाम अर्थमन्त्रीसमक्ष सिफारिस गर्नेछ।
त्यसपछि अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेछन् र मन्त्रिपरिषद्ले नेप्सेको नयाँ सीइओ नियुक्त गर्नेछ।
सीइओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्ने व्यवस्था छ। साथै, व्यवस्थापकीय तहमा कम्तीमा ७ वर्षको अनुभवसहित कुल १५ वर्षको कार्यअनुभव तोकिएको छ।
मन्त्रालयले साउन १२ गते १५ दिनको समय दिएर आवेदन खुलाएको थियो। सीइओ छनोट समितिको संयोजकमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य छन्।
नेप्सेका तत्कालीन सीइओ चुडामणि चापागाईंले असार २२ गते राजीनामा दिएपछि नयाँ सीइओ नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।
प्रतिकृया