कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन केन्द्रीय सदस्यले पार्टी छाडेका छन्। राजीनामा दिने नेतामा समानुपातिक उम्मेदवारसमेत रहेका डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्।
राजीनामा दिने नेताहरुको राजनीतिक पृष्ठभूमि पनि विशिष्ट छ। डकेन्द्रसिंह थेगिम पार्टी गठनअघि प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समिति का संयोजक थिए भने गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टी मा संलग्न थिए। उनीहरु लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ नामाकरण गर्नु पर्ने आन्दोलनको नेतृत्वमा रहेका थिए।
नेताहरुले पार्टी छोड्ने कारणको रूपमा उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र कमजोर हुनु, विचार र विधि अस्पष्ट हुनु, तथा पहिचानसम्बन्धी एजेन्डा लिखितरुपमा नहुनु उल्लेख गरेका छन्। पार्टी परित्यागपछि उनीहरु स्वतन्त्र भएर संयुक्त पहिचानवादी मोर्चा लाई सशक्त बनाउने योजना बनाइरहेका छन्।
उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिमको नाम आदिवासी जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवारमा समावेश गरिएको थियो। कुलमान घिसिङले पार्टी गठन गरेपछि रास्वपासँगको एकताको विभाजन हुँदा केही नेता रास्वपामै रहेर पहिलो धक्का पाएका थिए।


प्रतिकृया