टेकस्पायर कलेजले विद्यार्थीहरुमा उद्यमशीलता प्रस्फुटन गर्न १ करोड रुपैयाँ राशिको सुरुवाती लगानी पुँजी दिने घोषणा गरेको छ। खुल्ला आवेदन मार्फत छनोट हुने विद्यार्थीहरूको समूहले व्यवसायको आइडियाको आधारमा लगानी पाउनेछन्।
पछिल्लो समय नयाँ पुस्तामा उद्यमशीलता प्रतीको रुचि उदाउँदो देखिन्छ। विद्यार्थीहरु नवीनतम सोच सहितको व्यवसाय सञ्चालनका योजना बनाइरहेका हुन्छन् तर व्यवसाय सुरुवात गर्न पैसा नै नहुँदा सञ्चालनमा आउनु अगावै ती आईडिया सोचमै सकिन्छन् । विद्यार्थीहरुको सोचलाई निखार्न र व्यवसायिक रूपमा सफल बनाउन टेकस्पायर कलेजले १ करोड रुपैयाँ विद्यार्थीको व्यवसायिक सोचमा लगानी गर्न छुट्याएको हो।
यसै बिषयमा संवादका लागि हामी कलेजका प्रधानाध्यापक एवम् प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पोख्रेलको कार्यकक्षमा पुग्यौं । उनको कार्यकक्षमा पुग्दै गर्दा कलेजले विद्यार्थीहरुलाई कलेजमै बसेर काम गर्न विभिन्न ठाउँ छुट्याईदिएको रहेछ ती दृश्यले हाम्रो ध्यान खिच्यो। प्रमुख कार्यकारी अधिकृत पोख्रेललाई भेट्ना साथ हामीले प्रश्न तेर्स्यायौ तपाईंको कलेजमा १२ बजे छुट्टी हुँदैन हो ? पोख्रेलले मुस्कान सहित जवाफ दिए, ‘ हामी बिहान ६ बजे कलेज आउने विद्यार्थीहरुलाई बेलुका ६ बजे सम्म पढाउँछौ।’
गुल्मीमा जन्मिएका पोख्रेल अहिले उद्यमशीलता र शिक्षणमा सक्रिय छन्। यतिबेला उनी आफ्नो कलेजबाट एक वर्षमा १५ कम्पनी तयार गर्ने र ९० विद्यार्थीहरुलाई तिनै कम्पनीहरुमा रोजगारीको अवसर सृजना गर्ने यात्रामा छन।

उच्चमाध्यमिक तहको अध्ययनपछि पोख्रेल आफ्नै रहरले स्नातक तहमा कम्प्युटर साइन्स पढे। स्नातक तहमा उनले नेपालबाटै गुगल रेटिङ्को ( गुुगलमा गरिने खोज कत्तिको सही छ वा छैन उल्लेख गर्ने ) टिममा काम गर्ने मौका पाए। सूचना प्रबिधि क्षेत्र प्रतिको उदाउँदो रुचिलाई गुगलको यात्राले सोचाइ र हेर्ने दृष्टिकोण थप फराकिलो बनेको पोख्रेल बताउँछन्।
सूचना प्रबिधि क्षेत्रप्रतिको उनको रुचि थप विस्तार हुँदै गयो, २०६२ तिर पोख्रेल र उनका साथीहरु मिलेर सूचना प्रबिधि सेवा दिने कम्पनी स्थापना गरे। उनीहरूले सो कम्पनी मार्फत हार्डवेयर, सफ्टवेयर र विभिन्न कम्पनीहरुको लागि सिस्टम बनाउँथे। बिस्तारै उनका साथीहरु देश बाहिर जान थालेपछि उनी सो कम्पनीबाट बाहिरिए ।
पोख्रेलले सँगै शिक्षण पेशालाई पनि अंगालेका थिए, उनले विभिन्न कलेजमा अध्यापनलाई निरन्तरता दिन थाले। त्यो बेला नेपालमा विद्यालय तहमा कम्प्युटर विषयको अध्ययन बिस्तारै सुरु हुँदै थियो, यसैबीच उनले साथीहरूसँगको सहकार्यमा कक्षा १ देखि १० सम्मको कम्प्युटर विषयको किताब प्रकाशित पनि गरे। आधारभूत तहदेखि पढाउन सुरु गरेका पोख्रेल अहिले स्नातकोत्तर सम्मका विद्यार्थीहरुलाई पढाउँछन्।
पोख्रेल शिक्षण पेशामा आबद्ध छन्नै सँगै उद्यमशीलताका पनि उत्तिकै, उनले आफूभित्र रहेको उद्यमशीलताको हुटहुटी थप निखार्न गर्न स्नातकोत्तरमा एमबीए गरे। प्रविधि र व्यवस्थापन दुवै विषयको ज्ञान हुनाले पोख्रेलले धेरै व्यवसायलाई डिजिटल रुपान्तरणमा सहयोग पनि गरे।
२०१२ मा उनले साथीहरुसँग मिलेर अनलाईन फलफूल तथा तरकारी बिक्री गर्ने ई- कमर्स सञ्चालन गरे। जुन कोभिडको समयमा निकै लोकप्रिय थियो। यतिबेला उनको अर्को कम्पनी ‘हिमालय नेक्टार हनी’ले देश तथा विदेशमा नेपाली मह तथा महका उत्पादन पुर्याइरहेको छ।
हामीले उद्यमशीलता र अध्यापनको पेसामा रमाइरहेका लक्ष्मणलाई कलेज खोल्ने सोच कसरी आयो भन्ने सोध्यौ, उनले रचनात्मक जवाफ दिए, ‘हामीले विद्यार्थीहरु पढाएर अन्य देशका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेका रहेछौ। विद्यार्थीहरुलाई यही देशमा राख्न संरचनानै सुधार गर्नुपर्छ। एक किसिमको इकोसिस्टम बनाउन सके विद्यार्थीहरुलाई यही काम गर्ने सम्भावना देखाउन सक्छौ। सोही यात्रामा हाम्रो सिंगो टीम लागिरहेको छ। ’
उनी थप्छन् ,‘हामीले पढाएका ९५ प्रतिशत विद्यार्थीहरु विदेश जान्छन्। यो चिन्ताजनक विषय हो। हामीले यही प्रसंगलाई रोक्न सक्छौ भन्न काम गरिरहेका छौ। विभिन्न कर्पोरेट र आईटी कम्पनी चलाइरहेका साथीहरुसँग यो सोच मिलेपछि हामीले सहकार्यमा कलेज सञ्चालन गर्ने निर्णय गर्यो। ’

लामो समय देखि सञ्चालनमा रहेको कलेजलाई नयाँ व्यवस्थापनले टेकओभर गर्यो र उनीहरूले कलेजलाई टेकस्पायर नाममा रिब्रांड गरे। विद्यार्थीका मनोविज्ञान बुझेका उनीहरूको सोचलाई सञ्चालनको पहिलो वर्षमै ३०० बढी विद्यार्थीहरुले विश्वास गरे । अहिले कलेजमा बिसिएस आइटीमा पहिलो ब्याचमा २७० जना विद्यार्थी भर्ना भएका छन् भने एमबीएमा ६० विद्यार्थी अध्ययनरत छन।
पठनपाठनलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्नेमा उनको सिङ्गो टिम लागिरहेको छ। हामीले सुरुवातमा सोधेको प्रश्नलाई जोड्दै उनले, ‘हामी विद्यार्थीहरुलाई ब्याचलर पढ्दै गर्दा जॉब मार्केटको लागि तयार बनाउँछौ। बजारमा बढी गुनासो सुनिने कलेजबाट निस्किने विद्यार्थी कर्पोरेटका लागि तयार हुँदैनन् भन्ने भाष्य परिवर्तन गर्न खोज्दैछौ। ’ भने।
उनी थप्छन्,‘ टेकस्पायर कलेजमा हामीले बिहान ६ बजे आउने विद्यार्थीहरुलाई बेलुका ६ बजे सम्म कलेजमै बस्ने वातावरण सृजना गरेका छौ। उनीहरूलाई पढ्नको लागि विभिन्न तालिम आयोजना गर्छौ, काम गर्नेलाई यही काम गर्ने ठाउँ दिएका छौ, हाम्रा तालिम निचोडमुखि छन्। पहिलो वर्ष हामी सबै विद्यार्थीहरुलाई सूचना प्रबिधि क्षेत्रको प्रमुख क्षेत्रको आधारभूत तालिम दिन्छौ, दोश्रो वर्षसम्ममा आइपुग्दा उनीहरूमा कुन विधामा के गर्ने भन्ने क्लारिटी (यो नै गर्छु भन्ने प्रष्ट सोच ) आउँछ अनि दोश्रो वर्षमा उनीहरूको सीपमा निखारता ल्याउन विशिष्ट तालिम दिन्छौ र तेश्रो वर्षमा उनीहरूलाई काममा पठाउछौ। हामीसँग ५० बढी कर्पोरेटले सहकार्य गरेका छन्। हाम्रा आफ्नै ५,६ सूचना प्रविधि कम्पनीहरु छन् । त्यही हाम्रा विद्यार्थीहरुलाई काम गर्न पठाउछौ। यसरी मेहेनेत गर्ने विद्यार्थीहरुको हातमा ब्याचलर पढ्दा पढ्दै रोजगारीको लागि कम्पनीबाट ‘अफरलेटर’नै आउँछ।’

टेक्सपायर कलेजले दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न कर्पोरेट र सूचना प्रविधि कम्पनीहरुसँग सहकार्य गरेको छ। ‘हामी कर्पोरेटहरूलाई उनीहरूले खोजेको जनशक्ति कस्तो हुनुपर्छ के के सीप जानेको हुनुपर्छ भन्ने पाठ्यक्रम बनाउन दिन्छौ र तिनै कम्पनीको शीर्ष तहमा काम गरिरहेका व्यक्तिहरूले विद्यार्थीहरुलाई पढाउँछन्, यसले विद्यार्थी कलेज सकेर जागिर खान जाँदा देखिने ग्याप मेटिने विश्वास लिएको छौ।’ पोख्रेल भन्छन।
कलेजले विद्यार्थीहरुलाई सीप सिकाएको मात्र नभई उनीहरूलाई उद्यमशीलतामा समेत सघाउने पोख्रेल बताउँछन्।, ‘ सबै विद्यार्थीहरुलाई अरु कोमा गएर काम गर्न मन पराउँदैनन् । कोही विद्यार्थीहरुले आफै केही सुरुवात गर्नुपर्छ भन्ने सोच राख्ने गर्छन्। उनीहरूको सोचलाई सार्थकता दिन हामीले सक्दो सहयोग गरिरहेका छौ।’
कलेजले विद्यार्थीहरुमा उद्यमशीलता अभिवृद्धि गर्न विभिन्न कम्पनी सञ्चालन गरिरहेका उद्यमी सँग अन्तर्क्रियामा कार्यक्रम गर्ने गरेको छ। १ करोड रुपैयाँ राशिको विद्यार्थीहरुको सोचमा लगानी गर्ने कार्यक्रम विद्यार्थीहरुलाई उद्यमी बन्न अभिप्रेरित गर्ने कलेजको सोचको एक स्वरूप भएको पोख्रेल बताउँछन्।
कलेजले सो कार्यक्रको लागि विद्यार्थीहरूका लागि आवेदन खुल्ला गरेको छ। सो आवेदन बाट छनोट हुने बिजनेस आईडियालाई १ महिना व्यवसाय सञ्चालनको तालिम दिने र त्यसपछि उनीहरुबाट व्यवसायको योजना मागी उपयुक्त व्यवसायको सोचमा कलेजले सुरुवाती लगानी गर्ने पोख्रेलले जानकारी दिए।
यत्तिमात्र नभई कलेज वैदेशिक मुद्रा देशभित्र कसरी भित्र्याउन सकिन्छ भन्ने सोचमा पनि अघि बढेको देखिन्छ।, ‘अहिले नेपालमै बसेर विश्वका जुनकुनै देशको काम गर्न सक्छौ। हामीले विद्यार्थीहरुलाई कसरी अनलाइन विदेशको काम गरेर पैसा कमाउन सकिन्छ भन्ने भिजन दिने गरेका छौ। कलेजमा हामीले २० जना विद्यार्थीहरूको एउटा टिम नै तयार गरिसकेका छौ। उनीहरू विशुद्ध साइबर सेक्युरिटीको काम गर्छन। त्यो समूहले सेक्युरिटी टेस्टिङ, बग बाउन्ती लगाएतका कार्यमा सक्रिय छन्।’ पोख्रेल भन्छन।
उनी थप्छन्,‘ हामीले बाहिरबाट काम कसरी ल्याउन सकिन्छ भन्ने कुरा विद्यार्थीहरुलाई जानकारी दिन यहाँबाट विदेशको काम गरिरहेका व्यक्तिहरूलाई बोलाएर अन्तर्क्रिया गर्छौ,विद्यार्थीलाई अवसर कसरी क्याच गर्ने भन्ने सिकाउँछौ, काम गर्न चाहने विद्यार्थीहरूलाई काम गर्ने ठाउँ कलेजमै उपलब्ध गरेका छौ। आफ्नो ल्याप्टप हुने विद्यार्थीहरुलाई काम गर्न सहज होस् भनेर वर्कस्टेसन टाइपको रूम तयार गरेको छौ जहाँ बसेर उनीहरूले दिनभर आफ्नो काम गर्न सक्छन्।’
हामीले उनलाई नयाँ पुस्ताले नेपालमा नदेखेको सम्भावना देखाउन सकिन्छ त भन्ने प्रश्न सोध्यौ, जबाफमा उनले सम्भावना देखाउन प्रयास नै नगरिएको बताउँछन्। ‘ नेपालमा सम्भावना नै छैन भन्ने भाष्य निर्माण गरिएको हो। यसलाई चिर्न कतैबाट पनि प्रयास भएँन। नेपालबाट बाहिर गएपछि सबै राम्रो हुन्छ भन्ने ट्रेन्ड स्थापित भयो। सामाजिक सञ्जालमा देखिने त्यहाँको लाईफ स्टाइलमा मान्छे झुल्न थाले। टेकस्पायर कलेजमा हामीले नेपालमै बसेर विदेशको काम र लाईफस्टाइल बाँच्न सकिन्छ भन्ने भिजन दिँदै छौ। मलाई लाग्छ नेपाल बनेन भन्ने हामीले आजसम्म नेपाललाई बनाउन के गर्यौं? हामी भन्नेमा भन्दापनि बनाउनेको सूचीमा अटाउनुपर्छ।’

विद्यार्थीहरूलाई उनी साथीहरुले के भन्छन भन्दा पनि आफूलाई के पढ्न मन लागेको छ त्यो विषय अँगाल्न सल्लाह दिन्छन्। “अहिले विद्यार्थी भाइबहिनीहरु लाई अरु साथीहरु के गर्छन, कहाँ पढ्छन् आफू पनि त्यही गरौं त्यही पढौं भन्ने लाग्न सक्छ तर त्यसो नगरी आफूलाई मन लागेको विषय लिएर पढ्न सल्लाह दिन्छु। कसैले यो ट्रेन्डमा छ भनेको भरमा फरक विधा अँगाल्नु भन्दा आफूलाई मन लागेको विधा छनोट गर्नुभयो भने तपाईंलाई पछि काम गर्दा रमाइलो लाग्छ।”
यतिबेला नयाँ बानेश्वरस्थित टेकस्पायर कलेजले प्लस टू सकाएर बसेका विद्यार्थीहरूका लागि सीप विकास सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
#bajarkochirfar #bazarkochirfar

प्रतिकृया