कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा आज (असोज ३० गते) लिसारा रिसेप्सन, भगवतीबहाल, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे बस्दैछ।
सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, जसबाट कुल १२ प्रतिशत लाभांश प्रदान गरिनेछ। साथै, बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि राखिएको छ।
यससँगै, १०० रुपियाँ दरले ३५ करोड रुपियाँबराबरको ९ प्रतिशत वार्षिक लाभांश दर कायम हुने अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
सभामा बैंकको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरूमा छलफल हुनेछ भने चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ।
लाभांश र साधारणसभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार असोज १४ सम्मका सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।


















प्रतिकृया