हरेक बुल र बियरमा दोहोरिने यी गल्तिहरु: कतै तपाईं पनि यहि रोगको शिकार भईरहनु भएको त छैन ?

सुलोजा तिवारी
सुलोजा तिवारी
२०८१ आश्विन ४ गते
हरेक बुल र बियरमा दोहोरिने यी गल्तिहरु: कतै तपाईं पनि यहि रोगको शिकार भईरहनु भएको त छैन ?

सेयर बजारमा हरेक बुल र बियरको चक्रले लगानीकर्तालाई नयाँ अवसर दिन्छ, तर बारम्बार एउटै कथा दोहोरिन्छ : “यो बुलमा चुकियो, अर्कोमा अवश्य कमाउँछु।” लगानीकर्ताको यो मनोविज्ञानलाई विद्यार्थीहरूको बानीसँग तुलना गर्न सकिन्छ। विद्यार्थीले वर्षभरि मोजमस्ती गरेर बिताउँछन्, अनि परीक्षा नजिकिँदै गर्दा हतार-हतार पढ्न थाल्छन्। प्रत्येक वर्ष “अर्को साल चाहिँ सुरुबाटै राम्रोसँग पढ्छु” भनेर प्रतिज्ञा गर्छन्, तर त्यो वाचा कार्यान्वयनमा कहिल्यै आउँदैन। सेयर बजारमा लगानीकर्ताहरूको चाल पनि यस्तै हुन्छ। “अर्को बियरमा भने राम्रैसँग सेयर किन्छु” भन्ने योजना बनाएर बसेका लगानीकर्ता बजार तल झर्दै गर्दा सेयर किन्न आँट गर्न भने सक्दैनन्।

जब बजारले पुनः उचाइ लिन थाल्छ, सञ्चारमाध्यममा ‘सेयर बजार बढ्यो’ भन्ने खबर सुनिन्छ, अनि त्यसबेला लगानीकर्ताले सेयर नकिनेकोमा पछुतो गर्छन्। “पहिले किनेको भए यति नाफा हुने थियो” भनेर हिसाब गर्न थाल्छन्। यस्तो पछुतोले मन भरिँदै गर्दा, लगानी गर्ने आत्मविश्वास फेरि बढ्न थाल्छ। तर त्यतिबेला सम्म बजार माथि पुगिसकेको हुन्छ। केहि समय अघि सेयर नकिनेकोमा पछुतो भईरहेका लगानीकर्ताहरुमा अझै ढिला गरियो भने यो बुलमा छुटिन्छ भन्ने भावनाको विकास हुनथाल्छ र सेयर किन्न थाल्छन, अनि त्यही पुरानै पीडा दोहोरिन्छ – “फेरि फसियो।”

सेयर बजार बढेर चरम उत्कर्षमा पुगेपछि घट्छ भन्ने कुरा ध्रुवसत्य हो। तर, बढिरहेको बजार घट्छ भन्ने कुरा अधिकांश लगानीकर्ताले मनन गर्न सक्दैनन्। बढ्दो क्रममा रहेको बजारले जब आफ्नो क्यारेक्टर परिवर्तन गर्न थाल्छ र घट्दो ट्रेन्डमा जान खोज्छ स्मार्ट लगानीकर्ताहरु नाफा बुक गरेर बजारबाट निस्किन्छन र बजार छिर्ने उचित समयको प्रतीक्षा गर्छन। तर अधिकांश लगानीकर्ताहरु भने बजार घट्दो ट्रेन्डमा जान लागेको देख्दा देख्दै पनि नाफा बुक गर्न सक्दैनन्। सेयर बजार बढ्दो क्रममा जाँदै गर्दा आफ्नो पोर्टफोलियोमा बढेको रकम देखेर उत्साहित हुने लगानीकर्ताहरु बजार घट्दो क्रममा गएपछि सोहि पोर्टफोलियो घटेको देखेर निराश हुन्छन। अब अर्को पटक त यो गल्ति दोहोर्याउँदिन भन्ने अठोट गर्छन तर बजार उच्च रुपमा बढ्दै गएपछि फेरी पनि नाफा बुक गर्न सक्दैनन्। जबसम्म बजारको भाषा बुझ्न सकिँदैन यस प्रकारका घटनाहरुले निरन्तरता पाईरहन्छन।

वास्तवमा लगानी गर्दा आफ्नै व्यवहारसँग लड्नु अपरिहार्य छ । पहिला गरेका गल्तीहरूलाई नियन्त्रण गर्न सके मात्र लगानीकर्ताले सेयरबजारबाट नाफा कमाउन सक्छ। यदि लगानीकर्ताले आफ्नो व्यवहारको विश्लेषण गरेर सही रणनीति पत्ता लगाए पनि कार्यान्वयन गर्न सकेन भने चाहे जति नै फाइदाजनक कम्पनीको पहिचान गरे पनि सेयर बजारमा पैसा बनाउन सक्दैन भन्ने कुरालाई हामीले नकार्न सक्दैनौं।

सेयर बजारमा दीर्घकालीन सफलताको लागि विगतका गल्तीबाट सिकेर सुधार गर्न आवश्यक छ। बुल र बियरको चक्रमा बारम्बार हुने गल्तीहरूलाई नदोहोर्याउनु नै सफल लगानीकर्ताको विशेषता हो। यदि लगानीकर्ताले आफ्नो अघिल्लो कमजोरीलाई सुधार्दै जान्छन् भने मात्र सेयर बजारमा दीर्घकालीन नाफा गर्न सक्छन् । सेयरबजारमा लगानी गर्नु भनेको युद्ध हो जहाँ लगानीकर्ताले आफ्नै गलत मानसिकता, व्यवहार र अनुशासनहीनतासँग लड्न सके मात्र सफल हुन सक्छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स