सोमबार सम्ममा अर्थमन्त्री र सेयर लगानीकर्ताका प्रतिनिधीबीच छलफल हुने
अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार प्रा. डा. सूर्य बहादुर थापाले अर्थमन्त्रालय सेयर बजारका लगानीकर्ताहरुको मागप्रति सचेत रहेको बताएका छन्। समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सेयर बजारको सुधार आवश्यक छ भन्नेप्रति अर्थमन्त्री जानकार रहेको बताउँदै थापाले अब प्रस्तुत हुने बजेट खास हुने समेत बताए। बजारको चिरफारको नियमित कार्यक्रम चिरफार बहसमा बोल्दै थापाले सेयर बजारका लगानीकर्ताको मनोबल बढाउने नीति ल्याईने बताए।
सेयर बजारका लगानीकर्ताहरुले विभिन्न माग राखी सुरु गरेको आन्दोलन अर्थ मन्त्रालयकै आह्वानमा लगानी सम्मेलनलाई नकारात्मक प्रभाव नपरोस् भन्ने मनसायका साथ स्थगित गरेका थिए। लगानी सम्मेलन लगत्तै अर्थमन्त्री र आन्दोलनरत लगानीकर्ताका बीच छलफल हुने भन्ने कार्यक्रम तय गरिएको थियो। तर अहिलेसम्म पनि कुनै छलफल र संवाद हुन सकेको छैन। अर्थ मन्त्रालयले आफ्ना मागहरुलाई गम्भीर रुपमा नलिएको हो कि भन्ने शंका उपशंका लगानीकर्ताहरुमा फैलिरहेको सन्दर्भमा बिहिबारका लागि अर्थमन्त्रीसंग भेटघाटको कार्यक्रम तय गरिएको भएतापनि आकस्मिक रुपमा माओवादी केन्द्रको सचिवालय बैठक डाकिएको र अर्थमन्त्री सो बैठकमा सरिक हुनैपर्ने भएकाले भेटघाट कार्यक्रम स्थगित गरिएको पनि थापाले स्पष्ट पारेका छन्। आफू आन्दोलनरत लगानीकर्ता समूहका संयोजक उपेन्द्र पाठकसंग नियमित सम्पर्कमा रहेको बताउँदै सोमबारसम्म अर्थमन्त्री र लगानीकर्ताका प्रतिनिधिका बिचमा छलफल गराउने समेत उनले बताए।
बजेटअघि नै सरोकारवाला हरुसंग छलफल गरेर समस्याको समाधान गर्ने पनि थापाले बताएका छन्। अर्थमन्त्री समस्याहरुको दिर्घकालिन समाधानको पक्षमा रहेको बताउँदै थापाले जेठ १५ नेपाली जनताका लागि विशेष हुने समेत बताए। सेयर बजारका लगानीकर्ताहरुले आफूहरुलाई सरकारले उपेक्षा गरेको हो कि भनेर सोच्नु आवश्यक नरहेको भन्दै थापाले सरकारले सेयर बजारलाई प्राथमिकतामा राखेको पनि स्पष्ट पारेका छन्।