नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूलाई हवाई भाडामा भएको कालोबजारीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ। संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै नेपालबाट मलेसिया र मध्यपूर्वका देशहरूमा गइरहेका कामदारहरूलाई अत्यधिक महँगो हवाई टिकट किन्न बाध्य बनाइएको उल्लेख गरेको छ।
संघको भनाइमा, दैनिक करिब १,५०० जना कामदार वैदेशिक रोजगारका लागि बाहिरिने भए पनि एयरलाइन्सहरूले कृत्रिम रूपमा टिकटको अभाव सिर्जना गरी भाडा दोब्बर पुर्याएको छ। सामान्यतया ३० देखि ३५ हजार रुपैयाँ पर्ने टिकट अहिले ७० देखि ८० हजार रुपैयाँमा बेचिएको संघको आरोप छ। व्यवसायीहरूको भनाइअनुसार, अन्तर्राष्ट्रिय विमानस्थल सुधारको नाममा १० घण्टासम्म बन्द गरिनु र सीमित एयरलाइन्सको मिलेमतोले यो अवस्था निम्त्याएको हो।
ज्ञापनपत्रमा नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका जस्ता देशहरूबाट मलेसिया र खाडीका राष्ट्रहरूमा कामदार पठाउँदा यति धेरै भाडा नलाग्ने जानकारी पनि दिइएको छ। दिल्ली र ढाकाबाट दुबईका लागि नेपालभन्दा कम भाडामा उडान उपलब्ध रहेको जनाउँदै नेपालमा मात्र हवाई माफियाले कृत्रिम अभाव खडा गरेको संघले दाबी गरेको छ।
संघले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ अनुसार, अत्यधिक हवाई भाडा भएका कारण नेपालबाट कामदार पठाउन समस्या भइरहेकाले छिमेकी राष्ट्र भारतको विमानस्थल प्रयोग गरी कामदार पठाउन सहजीकरण गर्न माग गरेको छ।
















प्रतिकृया