राहुघाट जलविद्युत्: चुनौतीपूर्ण भौगोलिक अवस्थालाई पार गर्दै अन्तिम चरणमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ४ गते
राहुघाट जलविद्युत्: चुनौतीपूर्ण भौगोलिक अवस्थालाई पार गर्दै अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

सङ्घीय सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

आयोजनाको छ दशमलव दुई किलोमिटर लामो सुरुङ सम्पन्न भई ‘कङ्क्रिट’ ‘लाइनिङ’को काम तीव्र गतिमा भइरहेको आयोजना कार्यालयले जनाएको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कङ्क्रिट लाइनिङ गर्नुपर्नेछ । हालसम्म मुख्य सुरुङको एक किमी कङ्क्रिट लाइनिङ गरिएको आयोजनाको प्रवर्धक कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।

मुख्य सुरुङबाट विद्युत्गृहसम्म पानी पुर्याउन राखिने एक हजार ५० मिटर पेनस्टक पाइपमध्ये एक सय ३० मिटर जडान गरिएको छ । विद्युत्गृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणहरु जडान भइरहेका छन् । विद्युत् उत्पादनका लागि २०/२० मेगावाटका दुईवटा युनिट रहने आयोजना कार्यालयले जनाएको छ ।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायत उपकरण आयोजनास्थलमा ढुवानी भइसकेका छन् । अब जडान सुरु हुने छ । बालुवा थिग्ग्र्याउने पोखरी (डिसेन्टर)को निर्माण करिब ३० प्रतिशत सकिएको जनाउँदै कसीले वर्षाका कारण रोकिएको हेडवक्र्सको निर्माण सुरु हुने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं रघुगङ्गा हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्नेगरी एकीकृत तालिका बनाएर काम भइरहेको जानकारी दिए ।

“कमजोर तथा जटिल भौगोलिक अवस्थिति, कोभिड–१९ को महामारी, भूकम्पलगायत कारणले केही कठिनाइ भए पनि निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ, आयोजना निर्माण सम्पन्न हुने विषयमा भारतीय अधिकारीहरुबाट निरन्तर चासो व्यक्त भइरहेको हुन्छ, सबै पक्षले अन्तिम प्रयास गरी चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने उद्देश्यले कामलाई तिव्रता दिनुपर्छ, यसका लागि हाम्रोतर्फबाट आवश्यक सहजीकरण गर्ने छौँ”, घिसिङले भने ।

आगामी असारभित्र सम्पन्न हुनेगरी एक हप्ताभित्र निर्माण समयतालिका टुङ्गो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोहीबमोजिम कार्य अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । कङ्क्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थपगरी निर्माणलाई तीव्रता दिनुपर्ने देखिएको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स