नेपाल र बंगलादेशबीच आज ४० मेगावाट विद्युत् बिक्रीको त्रिपक्षीय सम्झौता हुँदैछ। बंगलादेशले नेपालको बिजुली भारतको मार्ग प्रयोग गरेर लैजाने भएकाले यस सम्झौतामा नेपाल विद्युत् प्राधिकरण , भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौता हुनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रम आज अपराह्न ४ बजे होटल याक एण्ड यतीमा हुनेछ । कार्यक्रममा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थिति रहनेछ। सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङ, र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले हस्ताक्षर गर्नेछन्।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)ले गत जेठ २९ गते नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको थियो। सीसीजीपीले प्रतियुनिट ८.१७ टका (करिब ९ रुपैयाँ)मा विद्युत् खरिद गर्ने सहमति जनाएको थियो। पहिले यो सम्झौता साउन १३ मा हुने तय गरिएको थियो, तर तत्कालीन प्रधानमन्त्री शेख हसिनाको राजीनामासँगै सम्झौता स्थगित भएको थियो।
यस सम्झौताले नेपाल-बंगलादेश बीच ऊर्जा सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।















प्रतिकृया