प्राधिकरणले बक्यौता नउठाई अधिकांश उद्योगहरुमा काटिएको लाइन पुन: जोड्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
प्राधिकरणले बक्यौता नउठाई अधिकांश उद्योगहरुमा काटिएको लाइन पुन: जोड्यो

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुली पुन: जडान गरेको छ। अधिकांश उद्योगहरुमा मंगलबार राति लाइन जोडिएको हो।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै केही समयअघि उद्योगहरुमा विद्युत् आपूर्ति काटेको थियो। यस सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरुमा बिजुली पुन: जडान गर्न र १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिएको थियो। सोही निर्देशनको पालना गर्दै मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन पुन: जडान गर्ने निर्णय गर्यो।

प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई उद्योगहरुमा काटिएको लाइन जोड्न निर्देशन दिएपछि, अधिकांश उद्योगहरुमा मंगलबार राति बिजुली जोडिएको छ। तर, ठूलो परिमाणमा विद्युत् खपत गर्ने ठूला उद्योगहरुमाथि भने बिजुली जडान अहिलेसम्म भएको छैन। प्राधिकरण स्रोतका अनुसार, भारत निर्यात भइरहेका कारण ठूला उद्योगहरुमा बिजुली जोड्दा असर नपर्ने हिसाबले पछि जोडिनेछ।

यसैबीच, बक्यौता नउठाई बिजुलीको लाइन जडान गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता खडानन्द कँडेलले मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन्। रिटको सुनुवाइ बुधबार तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स