नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १३ गते
नेप्से परिसूचक २२ अङ्कले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियो

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ ।

आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ । बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा अपर स्याँगी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ ।

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार चार सय ४१ कित्ता सेयर किनबेच भएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स