अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको लागि अनलाइन टिकट नपाइने जानकारी दिएको छ। बुधबार बिहान ८ बजेदेखि जावलाखेलमा मात्र भौतिक टिकट बिक्री हुनेछ।
एन्फाको टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार, कुल ११,००० टिकट बिक्री गरिनेछ, जसमा जावलाखेलबाट साधारण प्यारापिटका लागि १०,००० र भीआईपी प्यारापिटका लागि १,००० टिकट उपलब्ध हुनेछ। प्रतियोगिता हुने दशरथ रंगशालामा १५,००० दर्शक क्षमताको व्यवस्था छ।
टिकट बिक्रीमा सीमितता पनि लागू गरिएको छ। एकजना दर्शकले साधारण प्यारापिटमा अधिकतम ५ वटा र भीआईपीमा २ वटा टिकट मात्र किन्न सक्नेछन्। एन्फाले दर्शकहरुलाई साँझ ५ बजेदेखि पहिले रंगशालामा प्रवेश गर्न आग्रह गरेको छ।
नेपाल र भारत बीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको आरोपपछि एन्फाले टिकट बिक्रीमा रोक लगाएको थियो र अब खुद जिम्मा लिएको छ। यसअघि, माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले टिकट बिक्रीको जिम्मा लिएको थियो।




















प्रतिकृया