नेपालले भोलि भारत हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
नेपालले भोलि भारत हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने

भोलि शुक्रबार अर्थात् नोभेम्बर १५ मा नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने भएको छ। गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।

प्राधिकरणका प्रवक्ता चन्दन घोषले बंगलादेशमा विद्युत् बिक्रीका लागि भारतबाट स्वीकृती आएको बताए। ‘भारतले बंगलादेशमा विद्युत् बिक्री गर्न स्वीकृती दिएको छ। भोलि बंगलोदशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ,’  उनले भने, ‘हामीले सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै विद्युत् बिक्री गर्न पाउछौं। त्योअनुसार भोली एक दिन मात्रै विद्युत् निर्यात हुनेछ।  त्यसपछि अर्को बर्ष जुन १५ तारिखदेखि विद्युत् निर्यात सुरु हुनेछ।’

नेपाल–भारत–बंगलादेशबीचको सम्झौता गत असोज १७ गते काठमाडौंमा एक विशेष समारोहमा हस्ताक्षर भएको थियो। नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम, र भारतका तर्फबाट एनटीपीसी विद्युत् व्यापार निगम (एनभिभिएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतामा हस्ताक्षर गरेका थिए।

पाँच वर्षका लागि तय गरिएको यस सम्झौताअन्तर्गत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले पाँच महिनासम्म बंगलादेशलाई विद्युत् आपूर्ति गर्नेछ। वार्षिक ४० मेगावाट निर्यातबाट नेपालले करिब ९२ लाख १६ हजार अमेरिकी डलर अर्थात् करिब एक अर्ब २३ करोड ८४ लाख रुपैयाँ आम्दानी गर्नेछ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पुर्याइनेछ। बंगलादेशमा निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमै रहनेछ। त्यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ। मुजफ्फरपुरबाट उता भने बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् पुर्याइनेछ । त्यसपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभिभिएनले लिने र ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्नेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स