नेपालबाट बंगलादेशलाई विद्युत निर्यात आजदेखि सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ३० गते
नेपालबाट बंगलादेशलाई विद्युत निर्यात आजदेखि सुरु
आजदेखि नेपालले भारतको माध्यमबाट बंगलादेशलाई औपचारिक रुपमा विद्युत निर्यात सुरु भएको छ । नेपालका ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, र बंगलादेशका ऊर्जा सल्लाहकार मोहमद फजुल कविरले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेका छन्। यो नेपालबाट तेस्रो मुलुकमा गरिएको पहिलो विद्युत निर्यात हो, जसअन्तर्गत ४० मेगावाट विद्युत बंगलादेशलाई पठाइएको छ।

शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बंगलादेशमा नेपालबाट विद्युत निर्यात शुरु हुनु दक्षिण एशियामा विद्युत व्यापारमा कोशेढुङ्गा सावित भएको बताए। उनले विद्युत निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंगलादेशमा विद्युत निर्यात शुरु भएको बताए। उनले बंगलादेशमा विद्युत निर्यातको लागि सहजिकरणको लागि भुमिका खेल्ने भारत सरकार र बंगलादेश सरकारलाई धन्यवाद दिए।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट करिव ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत निर्यात गर्दा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रशारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रशारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत बंगलादेश विद्युत पुग्नेछ । नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४) को वर्षायाममा विद्युत निर्यात शुक्रवार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बंगलादेशतर्फ पुनः विद्युत निर्यात सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स