जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गरेर नेपालले ऊर्जा निर्यातको लक्ष्य राख्नुपर्छ: अर्थमन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
जलविद्युत् सम्भावनाको पूर्ण उपयोग गरेर नेपालले ऊर्जा निर्यातको लक्ष्य राख्नुपर्छ: अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले जलवायु वित्तमा पहुँच बिस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूको उपयोग गर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले शनिबार आयोजना गरेको सम्मेलनमा बोल्दै उनले जलवायु वित्त स्रोतहरू विशेष गरी ऊर्जा, कृषि, र विपद् सहनशीलता जस्ता क्षेत्रहरूमा जलवायु अनुकूलन र न्यूनिकरणका लागि अत्यावश्यक हुने बताए।

उनले वित्तीय संस्थाहरूलाई नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार, र जलवायु अनुकूल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए। नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्नसक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको उनले जोड दिए।

पौडेलले नेपालको आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रूपमा अगाडि बढाउनु पर्ने र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सरकारले वातावरणीय अनुकूलता, दिगोपना, र समानतालाई प्राथमिकता दिनुपर्ने बताए। उनले दिगो विकास नेपालका लागि अत्यावश्यक भएको र विभिन्न नीति, कार्यक्रम तथा पहलहरू मार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न नेपालले ठूला कदमहरू चालेको उल्लेख गरे।

उनले नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकूलनतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको र हरित विकासलाई प्रोत्साहन गर्न ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा विस्तार, र दिगो वन व्यवस्थापनलाई सुनिश्चित गर्ने बताए। नेपालले जलविद्युत सम्भावनालाई अझै पूर्ण रूपमा उपयोग गर्न बाँकी रहेकोमा उनले ध्यानाकर्षण गराए।

नेपालले नवीकरणीय ऊर्जामा लगानी गरेर आन्तरिक ऊर्जाको आवश्यकता पूरा गर्दै छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरी क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्ने पौडेलले बताए। साथै, दिगो पर्यटनले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै रोजगार सिर्जना गर्न र राजस्व वृद्धिमा योगदान गर्ने पनि उनले औंल्याए।

पौडेलले दिगो कृषि अभ्यासले खाद्य सुरक्षा सुनिश्चित गर्न र वातावरणीय क्षतिको जोखिमलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। अन्त्यमा, उनले जलवायु वित्त स्रोतहरू विशेष गरी ऊर्जा, कृषि, र विपद् सहनशीलताका लागि महत्त्वपूर्ण हुने र यस क्षेत्रमा लगानीको आवश्यकता रहेकोमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स