२००० को आसपास देखि खासै ठूलो करेक्सन नआई २८०० को आसपास पुगेको नेप्से परिसूचकमा मंगलबार ठूलो गिरावट आएको छ। मंगलबार नेप्सेमा १४५ अंकको गिरावट आयो। २८१५ को अंकसम्म पुगेको नेप्से परिसूचक २६५१ को बिन्दुमा क्लोज भएको छ जुन १६४ अंकको गिरावट हो। एमाले अध्यक्ष केपी ओलीको सरकार बन्ने चर्चासंगै बढ्न थालेको सेयर बजारमा अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएपछि उत्साह थपियो। बढ्दो क्रममा रहेको सेयर बजारलाई आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले थप उत्साहित बनायो।
एकातिर बजार बढ्दै गईरहेको थियो भने अर्कातर्फ कुनै ठूलो करेक्सन नआई बजार एकोहोरो किन बढिरहेको छ भन्ने चासो पनि आम लगानीकर्तामा थियो। २५००-२६०० को जोनबाट बजारमा करेक्सन आउने आंकलन धेरै लगानीकर्ताले गरेका थिए तर त्यो जोनबाट पनि बजारमा करेक्सन आएन। त्यसपछि पनि बजारमा करेक्सन आउने आंकलनहरु फेल हुँदै गए। तर आज मंगलबार एकैदिनमा सोचेभन्दा ठूलो अङ्कले बजारमा गिरावट आउनुलाई धेरैले चासोका साथ हेरेको देखिन्छ। हिजो सोमबार संसदमा सांसद अमरेश कुमार सिंह र पूर्व अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद प्रकाश शरण महतले सेयर बजारमा अस्वाभाविक वृद्धि भएको र यसले सोझा जनता फस्ने सम्भावना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद सिंहले त कम्पनीहरुको नामै तोकेर ती कम्पनीहरुको सेयर मूल्यमा छोटो समयमा आएको तिब्र बढोत्तरी प्रति प्रश्न गरेका थिए। धेरै लगानीकर्ताहरुले आज बजारमा आएको गिरावटको मुख्य कारण सांसद अमरेश सिंहको सोहि अभिव्यक्तिलाई मानेका छन्।
खासमा किन घट्यो त आज बजार ? बजारको गिरावट कहिलेसम्म कायम रहला ? आज बजार उच्च अंकले घट्नुको मूख्य कारण चाहिँ के हो ? यो विषयमा हामीले केहि बजार विज्ञहरुसंग कुराकानी गरेका छौं।
बजारको गिरावट स्वाभाविक हो, २५००-२५७५ को जोन निकै महत्वपूर्ण : सुबास चन्द्र ढुंगाना
चर्चित सेयर विश्लेषक सुबास चन्द्र ढुंगाना नेप्सेमा आएको आजको गिरावटलाई स्वाभाविक रुपमा लिएको बताउँछन्। कुनै ठूलो करेक्सन नआई बजार २००० को आसपासबाट २८०० सम्म पुगेको हुँदा एकैपटक ठूलो अंकको गिरावट आएको उनी बताउँछन्। ‘भुईंचालो को सिद्धान्त र यो सिद्धान्त उस्तै उस्तै हो। यदि बीच बीचमा सानो सानो भूकम्पहरु गईरह्यो भने ठूलो भूकम्प आउने सम्भावना कम हुन्छ तर बीच बीचमा सानो सानो भूकम्पहरु गएन भने ठूलो भूकम्प आउने सम्भावना बढेर जान्छ। नेप्से पनि यदि करेक्सनहरु आउँदै माथि गएको भए आज एकैदिनमा ठूलो गिरावट आउने थिएन। तर खासै ठूलो करेक्सन नआई बजार ब्याक टु ब्याक बढेकाले आज बजारमा ठूलो गिरावट आएको हो।’ ढुंगाना थप स्पष्ट पारे।
अब २५०० देखि २५७५ को जोनलाई महत्वपूर्ण जोनको रुपमा व्याख्या गर्दै त्यो जोनमा बेस बनाएर बजारले नयाँ उचाई चुम्नसक्ने उनको विश्लेषण छ।
सांसद अमरेश सिंहको अभिव्यक्ति र आजको बजार ‘स्याल कराउनु र बाख्रा हराउनु जस्तै’ : राजकुमार तिमिल्सिना
ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले बजारमा आज आएको गिरावटलाई प्रोफिट बुकिङ्गको रुपमा व्याख्या गरेका छन्। बजार एउटा लेभलमा बढिसकेको र लगानीकर्ताहरु राम्रै नाफामा रहेकाले बजारमा नाफा बुक भएको भन्दै भोलिदेखि नै बजार बढ्नसक्ने आँकलन उनले गरेका छन्। २०/२१ अर्बको कारोबार भईरहेको बजारमा आज २४ अर्ब आसपासको रेकर्ड ब्रेक कारोबार हुनुले बजारलाई झनै बलियो बनाएको उनको विश्लेषण छ। सांसद अमरेश कुमार सिंहको हिजोको अभिव्यक्ति र आज सेयर बजारमा आएको गिरावटलाई उनले ‘उता स्याल कराउनु र यता बाख्रा हराउनु’ जस्तै रुपमा लिएको बताए। उनका अनुसार बजारमा करेक्सन आउन एउटा बहाना चाहिएको र सांसद सिंहको अभिव्यक्ति तत्कालका लागि एउटा बहाना बनेको हो।
२८०० आसपासको जोनलाई एउटा महत्वपूर्ण सप्लाई जोनको रुपमा लिईएको छ। नेप्सेले सो जोन ब्रेक गर्नुअघि केहि शक्ति संचय गर्नु आवश्यक रहेको हुँदा यो लेभलबाट आउने करेक्सनलाई धेरैले ‘हेल्थी’ करेक्सनका रुपमा लिएका छन्। बैंक वित्तिय संस्थाहरुको ब्याजदर थप घट्ने राष्ट्र बैंकको नीति, सेयर बजारप्रति उदार सरकार,राष्ट्र बैंकको बैंक वित्तिय संस्थाहरुको नाफा बढ्ने नीति, अन्य क्षेत्रमा तत्कालै लगानीको वातावरण नहुनु, जग्गाको कारोबार गर्ने एउटा ठूलो जमातले जग्गा कारोबारमा अब खासै भविष्य नदेख्नु जस्ता कारणहरुले तत्कालै ठूलो पैसा सेयर बजारबाट नबाहिरिने बरु बजार घटेको मौकामा किन्न छुटेकाहरु प्रवेश गर्ने सम्भावना उच्च देखिएकाले सेयर बजारमा आगामी दिनमा अझै ठूलो उछाल आउने विश्लेषण बजार जानकारहरुको रहेको छ।






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया