एमालेका महासचिव शंकर भन्छन्, “प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र हो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
एमालेका महासचिव शंकर भन्छन्, “प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षड्यन्त्र हो”

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयासलाई राष्ट्र र जनताविरुद्धको षड्यन्त्रको संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रवृत्तिको कडा विरोध गरेका हुन्।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिविरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम फैलाउनु राष्ट्र र जनताविरुद्धको षड्यन्त्र हो।” उनले यस्तो कार्यलाई समाजको भविष्य बर्बाद गर्ने “विषवृक्ष” का रूपमा टिप्पणी गर्दै षड्यन्त्र र अराजकताबाट समाजलाई सुरक्षित राख्नु सबैको कर्तव्य रहेको बताएका छन्।

पोखरेलको यो भनाइ सामाजिक अभियन्ता दुर्गा प्रसाईंको हालैको कदमलाई लक्षित छ। प्रसाईंले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनी एक्जियाटामा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका थिए। उनले विभिन्न कागजात प्रस्तुत गर्दै ओलीविरुद्ध गम्भीर दाबी गरेका थिए।

प्रसाईंले भिडियोमा आफूलाई “तस्करसँग झुक्न तयार नभएको” बताउँदै यो सुरुवात मात्र भएको र अन्य दलका नेताहरूका पनि यस्तै प्रमाणहरू सार्वजनिक हुने धम्की दिएका थिए। पोखरेलले प्रसाईंको यस्तो गतिविधिलाई राष्ट्र र समाजलाई बदनाम गर्ने षड्यन्त्रको रूपमा चित्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स