बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’को व्यवस्था गर्नुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले जोड दिएकी छन् ।
आईतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै गौतमले आर्थिक अपराधमा जेल होइन ‘आर्थिक सजाय’ नै गर्नुपर्ने बताइन् ।
उनले आर्थिक अपराध गर्दा कुनैपनि मानिसलाई जेल हाल्ने नभइ आर्थिक सजायको व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरिन् । उनले चेक अनादरको मुद्दामा पनि चेक व्यावसायिक वा व्यक्तिगत कस्तो किसिमको हो ? सो को वर्गिकरण गर्न आवश्यक रहेको बताइन् । उनले आर्थिक अपराधका विषयमा अहिले तीन महिनाभित्र जाहेरी दिनसक्ने भनिए पनि यसलाई एक वर्षभित्र जाहेरी दिनसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन् ,‘ऐनमा बिगो बमोजिमको रकम भराई भन्ने शब्दहरुको सट्टा चेक बमोजिमको रकम भन्ने राख्नुपर्छ । चेकमा भएको रकम भन्दा बिगो भनि राख्नुपर्दैन । अहिले हाम्रोमा जुनसुकै कसुरमा पनि जेल सजाय गरेपछि सबै कुराको समाधान हुन्छ भन्ने उदेश्य राखिएको र हामीले त्यही कुरामा विश्वास राखेको देखिन्छ । आर्थिक प्रवृत्तिको अपराधमा ब्याज भराउने वा आर्थिक प्रवृत्तिकै सजाय गर्न उपयुक्त हुन्छ । ऋण दिएको रकम दिने मान्छेलाई जेलमा राखेर पैसा उठ्दैन । जेल सजाय भोगेपछि ऋण मिनाहा भइसक्यो । त्यसैले जेल सजायको व्यवस्थाले कसैलाई पनि न्याय गर्दैन । आर्थिक अपराधलाई आर्थिक सजाय राख्दा उपयुक्त हुन्छ ।’
















प्रतिकृया