आईएमई ग्रुपले कर्णाली चिसापानीमा केबलकार निर्माण गर्ने घोषणा गरेको छ। शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणाले जालपादेवी केबलकारको शिलान्यास गर्दै सुदूरपश्चिम क्षेत्रको प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र जैविक धरोहरको महत्त्वमा जोड दिइन्। उनले भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। यस क्षेत्रको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुकको समृद्धिमा ठूलो योगदान पुर्याउनेछ।”
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले नयाँ निर्माण हुने केबलकार, होटल र क्यासिनोको महत्त्व र सुदूरपश्चिम प्रदेशको विकासमा यसको भूमिका बारे चर्चा गर्दै निजी क्षेत्रलाई थप लगानीको लागि आग्रह गरे। उनले पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्तो प्रकारका परियोजनाले क्षेत्रीय समृद्धिमा ठूलो प्रभाव पार्ने बताए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई प्रोत्साहन दिने बताएका छन्।
जालपादेवी केबलकार प्रालिका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनलाई नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक कायापलटको मुख्य चालक शक्ति भने। उनले भनें, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र पर्यटक भित्र्याउन र बसाइ लम्ब्याउन सकिन्छ, जसले विदेशी मुद्रा, रोजगारी र राजश्वको वृद्धिमा मद्दत पुर्याउँछ।”
केवलकारको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दल र सरकारका निकायहरूको सहयोगले नयाँ उत्साह थपेको ढकालले बताए। यो परियोजना ३.१ किलोमिटर लामो केबलकारमार्ग समेट्नेछ, जसमा ३४ वटा गोन्डोला राखिनेछन्।
संपूर्ण परियोजनामा पाँच अर्ब रुपैयाँको लगानी हुने छ, जसमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल, रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट, चिल्ड्रेन पार्क लगायतका पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुने आईएमई ग्रुपले जनाएको छ।
















प्रतिकृया