साउथ इन्डियन सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ। चर्चित फिल्म ‘पुष्पा २’ को विशेष स्क्रिनिङका क्रममा मच्चिएको भागदौडमा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।
डिसेम्बर ४ मा हैदराबादको ‘सन्ध्या थिएटर’मा ‘पुष्पा २’ को प्रिमियर शो चलिरहेको थियो। यस विशेष स्क्रिनिङमा अल्लु अर्जुनको उपस्थितिको खबर बाहिरिएपछि उनलाई हेर्न ठूलो संख्यामा फ्यानहरूको भीड जम्मा भएको थियो। भीड नियन्त्रण बाहिर गएपछि भागदौड मच्चिएको थियो। उक्त घटनामा ३९ वर्षीया महिलाको ज्यान गएको थियो।
प्रहरीका अनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको थिएटर भ्रमणको योजना बनाएको थियो। अर्जुन थिएटरमा पुग्ने बित्तिकै उपस्थित फ्यानहरूमा हलचल सुरु भयो। यस घटनामा हैदराबाद प्रहरीले अल्लु अर्जुन र थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो।
शुक्रबार अनुसन्धानको क्रममा अल्लु अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगिएको छ।हैदराबाद प्रहरीले यस विषयमा थप छानबिन गर्दैछ। फिल्म ‘पुष्पा २’ ले विश्वभरका थिएटरहरूमा धमाका मच्चाइरहेकै समयमा यस्तो घटनाले अल्लु अर्जुन र उनको टोलीलाई ठूलो धक्का पुगेको छ।
















प्रतिकृया