विनाशकारी बाढीले कुन कुन जलविद्युत् आयोजनामा पुर्‍यायो ठुलो क्षति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २६ गते
विनाशकारी बाढीले कुन कुन जलविद्युत् आयोजनामा पुर्‍यायो ठुलो क्षति ?

चीनको तिब्बतबाट आएको विनाशकारी बाढीले भोटेकोशी नदी हुँदै नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार, बाढीका कारण ६०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।

इप्पानका अनुसार हाल सञ्चालनमा रहेका २५० मेगावाट बराबरका आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाको काम ठप्प भएको छ। उत्पादन बन्द भएका आयोजनामा रसुवागढी (१११ मेगावाट), त्रिशूली ३ ‘ए’ (६० मेगावाट), चिलिमे (२२ मेगावाट), माथिल्लो मैलुङ (१४ मेगावाट), र मैलुङ खोला (५ मेगावाट) रहेका छन्। साथै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा क्षति पुगेकाले माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिने स्थिति छ।

यसैगरी, निर्माणाधीन माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), सुपर त्रिशूली (१०० मेगावाट) र त्रिशूली ३ ‘बी’ (३७ मेगावाट) को प्रसारण लाइन तथा सबस्टेसनमा गम्भीर क्षति पुगेको छ। जसका कारण आगामी केही दिनसम्म विद्युत् उत्पादन तथा प्रसारण ठप्प रहने र करोडौं रुपैयाँ बराबरको आर्थिक घाटा हुने इप्पानले जनाएको छ।

इप्पानले बाढीमा फसेका १५० जनाभन्दा बढीको उद्धारमा संलग्न नेपाल सरकार, सेना, प्रहरी र सशस्त्र प्रहरी बलप्रति आभार व्यक्त गर्दै, क्षतिग्रस्त संरचनाहरूको शीघ्र पुनर्निर्माणका लागि नीतिगत सहजीकरण गर्न सरकारसँग माग गरेको छ।

साथै, भविष्यमा यस्ता विपद् दोहोरिन नदिन आवश्यक कदम चाल्न आग्रह गर्दै, बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र बेपत्ता व्यक्तिको खोजी तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स