सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]

नेपालको सेयर बजार अझै पनि दीर्घकालीन रूपमा सकारात्मक संरचनामै रहेको भन्दै लगानीकर्ता तथा बजार विश्लेषक सन्दीप कुमार चौधरीले अहिलेको समय ‘होल्ड र बाइ’ रणनीति अपनाउन उपयुक्त रहेको बताएका छन्।

बजारको चिरफारसँगको विशेष अन्तर्वार्तामा बोल्दै चौधरीले नेप्से सूचकले पछिल्ला महिनाहरूमा उतारचढाव देखाए पनि समग्र बजारको प्रवृत्ति बिग्रिन नसकेको बताए। उनका अनुसार बजारले २८०० बिन्दुको अवरोध पार गर्न सके नयाँ बुलिस गति देखिन सक्छ।

चौधरीका अनुसार पछिल्ला वर्षहरूमा बजार अपेक्षाअनुसार बढ्न नसक्नुमा विभिन्न कारण छन्। विशेषगरी ठूला लगानीकर्तामाथिको निगरानी, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान, संस्थागत लगानीकर्ताको कम सहभागिता तथा लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रासले बजारलाई दबाबमा राखेको उनको भनाइ छ।

“सानो लगानीकर्ताले मात्रै बजारलाई धेरै माथि लैजान सक्दैन। बजारले गति लिन ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता आवश्यक हुन्छ,” उनले भने।

बजेट र नीतिगत व्यवस्थाको चर्चा गर्दै चौधरीले सरकारले ल्याएका अधिकांश व्यवस्थाहरू बजारमैत्री रहेको बताए। यद्यपि नीतिगत निर्णयको प्रभाव तत्काल नदेखिने र त्यसको प्रतिफल देखिन केही वर्षसम्म लाग्न सक्ने उनको तर्क छ।

उनले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्न सकिए अर्थतन्त्रसँगै पुँजी बजारलाई पनि दीर्घकालीन फाइदा पुग्ने बताए। सरकार र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढे बजारको आधार थप मजबुत बन्ने उनको विश्वास छ।

हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको र सेयर कर्जाको पहुँच सहज बन्दै गएको भए पनि लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको उनले बताए। “बजारले एउटा सकारात्मक ट्रिगर खोजिरहेको छ। त्यो ट्रिगर आउनेबित्तिकै लगानीकर्ताको मनोबल बढ्न सक्छ,” उनले भने।

क्षेत्रगत विश्लेषण गर्दै चौधरीले फाइनान्स र निर्जीवन बीमा (नन–लाइफ इन्स्योरेन्स) क्षेत्रको प्राविधिक अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको बताए। यद्यपि कुनै पनि कम्पनीमा लगानी गर्नुअघि आधारभूत अवस्था, जोखिम र व्यक्तिगत लगानी रणनीतिलाई ध्यान दिनुपर्ने उनको सुझाव छ।

उनले अहिले बजारमा ठूलो गिरावटको संकेत नदेखिएको दाबी गर्दै दीर्घकालीन लगानीकर्तालाई धैर्य गर्न आग्रह गरे। “अहिले पनि बजारमा अवसर छ। सही कम्पनी छनोट गर्न सके लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्छन्,” चौधरीले भने।

उनका अनुसार आगामी मौद्रिक नीति, अर्थतन्त्रमा देखिने सुधारका संकेत र लगानीकर्ताको मनोविज्ञानमा आउने परिवर्तनले बजारको आगामी दिशा निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स