प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बुधबार बसेको बैठकमा सांसदहरूले आईपीओ तथा राइट सेयर स्वीकृतिमा भइरहेको ढिलाइ, पुँजी बजारमा सुशासनको अभाव र लगानीकर्ताको कमजोर बन्दै गएको विश्वासप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
बैठकमा नेकपा (एमाले)का सांसद डा. पुष्पराज कडेलले धितोपत्र बोर्ड (सेबोन)मा सयौं कम्पनीका आईपीओ र राइट सेयर स्वीकृतिका फाइल पाइपलाइनमा रहेको उल्लेख गर्दै स्वीकृति प्रक्रियालाई छिटो बनाउन आग्रह गरे।
उनले बोर्डको नेतृत्व बारम्बार परिवर्तन हुने र निर्णय लिन हिच्किचाउने प्रवृत्तिका कारण धेरै प्रस्ताव लामो समयदेखि रोकिएको बताए। यसले बजारको विकासमा प्रत्यक्ष असर परेको उनको भनाइ थियो।
कडेलले नेपालको पुँजी बजारले अझै उत्पादनमूलक क्षेत्रमा पर्याप्त लगानी परिचालन गर्न नसकेको उल्लेख गर्दै कम्पनी प्रवर्द्धक र कर्पोरेट गभर्नेन्सप्रति लगानीकर्ताको विश्वास कमजोर भएकाले दीर्घकालीन लगानी आकर्षित हुन नसकेको बताए।
उनका अनुसार हाल छोटो अवधिको प्रतिफल दिने क्षेत्रतर्फ लगानी बढी केन्द्रित भएको छ भने जलविद्युतबाहेक उत्पादनमूलक तथा म्यानुफ्याक्चरिङ क्षेत्रमा पुँजी प्रवाह अत्यन्त न्यून छ। कतिपय सक्षम कम्पनीहरू पनि पुँजी बजारमा नआएको भन्दै उनले कर्पोरेट गभर्नेन्स सुधारमार्फत लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न आवश्यक रहेको बताए।
यस्तै, नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले निजी क्षेत्र र लगानीकर्तामा सरकारप्रतिको विश्वास कमजोर बन्दै गएको बताए।
उनले पछिल्लो समय सेयर बजारमा आएको निरन्तर गिरावटका कारण लगानीकर्तामा निराशा बढेको उल्लेख गर्दै सरकार र नियामक निकायसँग लगानीकर्ताको मनोबल उकास्ने तथा बजारप्रतिको विश्वास पुनःस्थापित गर्ने स्पष्ट योजना माग गरे।
केरुङले लगानीका लागि वातावरण भए पनि निजी क्षेत्र सरकारप्रति पूर्ण रूपमा विश्वस्त हुन नसकेको भन्दै त्यसको कारण पहिचान गरी सुधारका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको धारणा राखे।

प्रतिकृया