यो वर्ष ४ फिल्मले कमाए १० करोड बढी, धेरै कमाउने फिल्म कुन-कुन?
नेपाली फिल्म उद्योगका लागि २०८१ साल ऐतिहासिक वर्ष बन्यो, र यस वर्षको सर्वाधिक कमाउने फिल्म ‘पूर्णबहादुरको सारंगी’ बनेको छ। यस फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको हो। १७ लाखभन्दा बढी टिकट बिक्री हुदा, यसले नेपाली फिल्म उद्योगमा नयाँ व्यापारिक उचाइ हासिल गरेको छ।
यस वर्ष नेपाली फिल्महरूमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख) र ‘छक्कापञ्जा ५’ (१५ करोड २० लाख) ले पनि उल्लेखनीय कमाइ गरेका छन्। ‘बोक्सीको घर’, ‘अञ्जिला’, ‘पूजार सार्की’, र ‘फर्की फर्की’ जस्ता फिल्महरूले पनि व्यापारमा ठूलो सफलता प्राप्त गरेका छन्।
२०८१ सालका शीर्ष १० कमाउने (ग्रास) नेपाली फिल्महरू:
१. पूर्णबहादुरको सारंगी – ४६ करोड ८० लाख
२. १२ गाउँ – १९ करोड ९२ लाख
३. छक्कापञ्जा ५ – १५ करोड २० लाख
४. बोक्सीको घर – १० करोड २ लाख
५. अञ्जिला – ७ करोड ५० लाख
६. पूजार सार्की – ७ करोड ३७ लाख
७. घरज्वाइँ – ५ करोड ९ लाख
८. फर्की फर्की – ४ करोड ८४ लाख
९. मनसरा – ४ करोड ७८ लाख
१०. लाज शरणम् – ४ करोड ३४ लाख
नेपाली फिल्म उद्योगको ऐतिहासिक २ अर्ब ७० करोडको कमाइ
नेपालको सिनेमा उद्योग यस वर्ष एक ऐतिहासिक मोडमा पुग्यो। सरकारको आधिकारिक बक्स अफिस रिपोर्टअनुसार, नेपाली र विदेशी फिल्महरूको संयुक्त ग्रस आम्दानी २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो। यस वर्ष नेपालमा रिलिज भएका ५९ वटा नेपाली फिल्महरूले १ अर्ब ८० करोड रुपैयाँ कमाउन सफल भएका छन् भने ८३ वटा विदेशी फिल्महरूले ८९ करोड ५८ लाख रुपैयाँ कमाएका छन्।
टिकट बिक्रीमा नयाँ रेकर्ड
टिकट बिक्रीको हिसाबले पनि यो वर्ष उल्लेखनीय रह्यो। नेपाली फिल्मका लागि ५७ लाख ३७ हजार टिकट बिक्री भएका छन् भने विदेशी फिल्मका लागि २६ लाख ९० हजार टिकट काटिएका छन्। कुल ८४ लाख ५७ हजार टिकट बिक्री भएको छ।