अमेरिकाले रुसको जफत गरेको सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलरको आर्थिक सहयोग गरेको छ। यो रकम जी–७ राष्ट्रहरूले घोषणा गरेको ५० अर्ब डलरको आर्थिक प्याकेजको एक हिस्सा हो।
अमेरिकी कोष विभागका अनुसार मंगलबार यो रकम विश्व बैंकको कोषमा हस्तान्तरण गरिएको छ, जहाँबाट युक्रेनले आवश्यकता अनुसार उक्त रकम उपयोग गर्न सक्नेछ। विश्व बैंकको नियमअनुसार यो रकम सैन्य प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा रुस–युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने योजना सार्वजनिक गरिसकेका छन्। उनले युक्रेनलाई दिइने आर्थिक सहयोगलाई अमेरिकी स्रोतमा बोझ भएको बताउँदै यसप्रति असन्तुष्टि जनाएका थिए। ट्रम्पको यो भनाइपछि उनको प्रशासनमा युक्रेनलाई आगामी दिनमा आर्थिक सहायता दिने हो वा होइन भन्ने शंका उत्पन्न भएको छ ।
यसरी, रुसको जफत गरिएका सम्पत्तिबाट प्राप्त नाफालाई प्रयोग गर्दै गरिएको यो सहायता युक्रेनको आर्थिक संकट हटाउने एक महत्वपूर्ण कदम मानिएको छ। तर, अमेरिकाको नयाँ प्रशासनमा यो सहयोग निरन्तरता पाउने/नपाउने विषय अझै अनिश्चित छ।
















प्रतिकृया