संसारको जुनसुकै कुनाबाट खुल्ने भो नागरिक एप, सिम कार्ड नभए पनि इमेलबाटै लगइन हुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
संसारको जुनसुकै कुनाबाट खुल्ने भो नागरिक एप, सिम कार्ड नभए पनि इमेलबाटै लगइन हुने

अब विदेशमा बस्ने नेपालीहरूले पनि नागरिक एप (Nagarik App) मा सहज रूपमा लगइन गर्न सक्ने भएका छन्। यसका लागि एपमा लगइन गर्दा आवश्यक पर्ने ओटीपी (OTP) कोड अब ईमेलमार्फत पनि प्राप्त हुने व्यवस्था गरिएको छ।

यसअघि नागरिक एपमा लगइनका लागि आवश्यक ओटीपी कोड नेपाली मोबाइल नम्बरमै मात्र आउने व्यवस्था थियो। त्यसका कारण विदेशमा रहेका प्रयोगकर्ताहरूले नेपालमै हुँदा लगइन गर्नुपर्ने, मोबाइलमा रोमिङ सेवा सक्रिय राख्नुपर्ने, वा विदेशमा लगआउट भएमा पुनः लगइन गर्न कठिनाइ हुने समस्या झेल्नुपर्ने हुन्थ्यो। विदेशमा नयाँ मोबाइल प्रयोग गर्दा पनि एपमा लगइन गर्न नसकिने समस्या देखिन्थ्यो।

तर अब ईमेलमार्फत ओटीपी प्राप्त हुने भएपछि विदेशमा रहेका नेपालीहरूले जुनसुकै देशबाट सहज रूपमा नागरिक एप प्रयोग गर्न सक्ने भएका छन्। यसले एपमा उपलब्ध विभिन्न सरकारी सेवाहरू निर्बाध रूपमा उपयोग गर्न सकिने बनाउँछ।

ध्यान दिनुपर्ने कुरा के हो भने, यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताको ईमेल एड्रेस पहिले नै भेरिफाइड हुन आवश्यक छ। अर्थात्, नेपालमै हुँदा आफ्नो नागरिक एपमा ईमेल राखेर भेरिफाई गरिसकेका प्रयोगकर्ताले मात्र विदेशमा जाँदा सोही ईमेलमा ओटीपी प्राप्त गर्न सक्नेछन्। हाल विदेशबाट ईमेल एड्रेस भेरिफाई गर्ने सुविधा उपलब्ध छैन। त्यसैले विदेश जानुअघि आफ्नो नागरिक एपमा ईमेल लिंक गरी भेरिफाई गराउन सुझाव दिइएको छ।

ईमेल एड्रेस थप्न वा भेरिफाई गर्न, नागरिक एपको माथिल्लो बायाँ कुनामा रहेको प्रोफाइल आइकनमा गएर My Details अन्तर्गत ईमेल समावेश गर्न सकिन्छ। ईमेल सफलतापूर्वक भेरिफाई भएको खण्डमा त्यहाँ हरियो टिक चिन्ह देखिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स