स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साउन ३० गते (आज) बाट सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ। यो संस्थाको दोस्रो चरणको सार्वजनिक निष्काशन हो। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डले संस्थालाई ५ करोड ७७ लाख ५० हजार रुपैयाँ जारी पुँजीको ४० प्रतिशत बराबर अर्थात् २ करोड ३१ लाख रुपैयाँ मूल्यका साधारण सेयर निष्काशनको अनुमति दिएको हो।
पहिलो चरणमा जारी साधारण सेयरको १० प्रतिशत अर्थात् २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको थियो। बाँकी सेयरमध्ये ०.५ प्रतिशत (१ हजार १५५ कित्ता) कर्मचारीका लागि, ५ प्रतिशत (११ हजार ५५० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। यसपछि बाँकी १ लाख ९५ हजार १९५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा, साथै सीडीएससीको मेरो शेयर मार्फत आवेदन दिन सकिन्छ।
यो आईपीओको आवेदन अवधि छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गतेसम्म रहनेछ। बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङले लिएको छ।



















प्रतिकृया