आज माघ शुक्ल पूर्णिमाका दिन एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा सुरु गरेको व्रत आज विशेष पूजा एवं अनुष्ठानसहित समापन हुन लागेको हो।
स्वस्थानी व्रत लिएका भक्तजनहरूले आज १०८ जनै, सुपारी, पान, फल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई भगवतीलाई अघ्र्य अर्पण गर्छन्। चढाइएका प्रसादमध्ये प्रत्येकबाट आठ/आठ भाग पति, छोरा, मीत छोरा वा पवित्र नदीमा विसर्जन गर्ने परम्परा रहेको छ।
आज मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक प्रथा छ। जाग्रामका क्रममा देवी माहात्म्य सुन्ने र सुनाउने गरिन्छ, जसले व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
स्वस्थानीको शाब्दिक अर्थ “आफू बसेको स्थानकी देवी” भन्ने बुझिन्छ। स्वस्थानी देवीलाई चार हात भएकी, सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा आसिन देवीका रूपमा वर्णन गरिएको छ। उनका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल, चौथो हातमा वरदमुद्रा रहेको उल्लेख छ।
स्वस्थानी व्रत लिँदा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोग व्याधि हट्ने, इच्छाएको जीवनसाथी प्राप्त हुने धार्मिक मान्यता छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न स्वस्थानी व्रत गरेकी थिइन् भन्ने कथा छ। यसैगरी, नाग–नागिनीको पुनर्मिलन, गोमा ब्राह्मणीको पुत्र वियोगबाट मुक्ति एवं छोरा नवराजको राजा हुनुजस्ता चमत्कारी घटनाहरू स्वस्थानी कथामा उल्लेख छन्।
स्वस्थानी व्रतकै अवसरमा उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा एक महिना लामो माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित समापन गरिँदै छ। करिब दुई सय भक्तजनहरूले कठोर माधवनारायण व्रत लिएका थिए।
नेवार समुदायले आजको दिनलाई “सि पुन्हि” (पूर्णिमाको उत्सव) रूपमा मनाउने परम्परा छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आज मध्याह्नकालमा पूजा गरी व्रत समापन गरिनेछ भने बिहीबार बिहान फूलपाती नदीमा सेलाएपछि यस वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा सम्पन्न हुनेछ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया