भारतको सेयर बजारमा निरन्तर उतार-चढाव आइरहेका बेला मंगलबार इन्डसइन्ड बैंकको सेयरमा ठूलो गिरावट आएको छ। बैंकको सेयर मूल्य २५% ले घट्दै ५२ हप्ताकै न्यूनतम अर्थात् रु ६७४.५५ मा झरेपछि लगानीकर्ताहरूमा ठूलो त्रास फैलिएको छ।
बैंकले हालै आफ्ना डेरिभेटिभ कारोबारमा लेखांकन त्रुटि भएको जानकारी गराएपछि सेयर बजारमा यस्तो असर देखिएको हो। बैंकले विगतका विदेशी मुद्रा कारोबारमा हेजिङ लागत सही रूपमा गणना गर्न नसकेको स्वीकार गरेको छ। यस त्रुटिका कारण बैंकलाई रु १,६०० देखि २,००० करोड घाटा हुने अनुमान गरिएको छ, जुन बैंकको कुल सम्पत्तिको २.३५% बराबर छ।
यस घटनाले सबैभन्दा ठूलो असर इन्डसइन्ड बैंक र यसको लगानीकर्ताहरूलाई परेको छ। पछिल्लो एक वर्षमा बैंकको सेयर मूल्य ४२% ले घटिसकेको छ। सेयर बजारका विश्लेषकहरूका अनुसार यस घटनाले बैंकको आन्तरिक व्यवस्थापन प्रणाली र गभर्नेन्समा कमजोरी रहेको संकेत गरेको छ।
बैंकले यो समस्या सेप्टेम्बर–अक्टोबर २०२४ को बीचमा पहिचान गरेको थियो। भारतीय रिजर्भ बैंक (RBI) ले नयाँ डेरिभेटिभ सम्बन्धी नियम ल्याएपछि आन्तरिक समीक्षा गर्दा यो त्रुटि फेला परेको हो। बैंकले चैत २७ गते (सोमबार) बसेको बोर्ड बैठकपछि मात्र यो जानकारी सार्वजनिक गरेको थियो।
इन्डसइन्ड बैंकको सेयरमा आएको गिरावटको असर भारतीय बैंकिङ क्षेत्रमा पनि परेको छ। निफ्टी बैंक इन्डेक्स ०.७% ले घटेको छ भने निफ्टी ५० पनि ०.२७% ले कमजोर देखिएको छ। यस घटनाले लगानीकर्ताहरूमा भारतीय बैंकहरूको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।
बैंकले विगतमा गरेको विदेशी विनिमय कारोबारमा गलत मूल्यांकन गरेको देखिएको छ।
विशेष गरी पाँचदेखि सात वर्ष पुराना कम तरलता भएका युरो र डलर विनिमय सम्झौताहरू (Swap Contracts) ले अहिले समस्या निम्त्याएको बताइएको छ।
बैंकले अहिले यस समस्याको विस्तृत समीक्षा गरिरहेको छ र बाह्य निकायलाई अडिट गर्न नियुक्त गरिसकेको छ। बैंकले लगानीकर्ताहरूलाई आर्थिक रूपमा सुरक्षित रहेको बताउँदै यो घाटा एकपटक मात्रै लेखिने आश्वासन दिएको छ। यो घाटा आर्थिक वर्ष २०२५ को चौथो त्रैमासिक (Q4 FY25) वा आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिक (Q1 FY26) मा समायोजन गरिने बताइएको छ।







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)



![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया